त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा युएईद्वारा नेपाल ४ विकेटले पराजित

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईले जितेको छ। रोमाञ्चक फाइनलमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो। जवाफमा युएईले उक्त लक्ष्य १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गरेको थियो। लिगचरणमा नेपालसँग २ खेलमा पराजित भएपनि युएईले फाइनलमा बदला लिंदै ४ विकेटको जित हासिल गर्‍यो।

युएईका लागि कप्तान महुमम्द वासिमले ४५ रन बनाउँदा अर्यान्स शर्माले २५ रन बनाए। त्यस्तै वृत्या अर्विन्दले २६ रन बनाउँदा अलिशान सरफुले १३ रन बनाएका थिए। त्यस्तै बसिल हमिद २२ रनमा अविजित रहे। हमिदले अन्तिम बल बाँकी हुँदा करण केसीलाई छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाए। त्यसअघि अली नसिर ११ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झा र अभिनास बोहराले २(२ विकेट लिए।

टियू मैदानमा पहिले ब्याटिङ गरेको नेपालले युएईलाई उपाधि जित्नका लागि १ सय ६३ रनको लक्ष्य दिएको थियो।  निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेल ५० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कप्तान रोहित पौडेलले १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सुन्दीप जोराले १० तथा सोमपाल कामीले १३ रन बनाए। करण केसी २३ रनमा अविजित रहे।

युएईका लागि युवा खेलाडी आयान अफ्जाल खानले ३ विकेट लिंदा अली नसिर र जहुर खानले समान २(२ विकेट लिएका थिए। जुनाइद सिद्दीकीको नाममा १ विकेट लिएका थिए।

नेपालले लिग चरणमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। युएईले भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको थियो।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया