दमक नगरपालिकाले दुर्घटनामा विषयमा प्रेसित ग¥र्यो विज्ञप्ति, एकजनाको मृत्यु, ६ जना घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

दमक नगरपालिकाको न्यायिक समिति तथा विधायन समितिको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा गाडी दुर्घटनामा परेको छ । 

बिहीबार उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ६ स्थित सोमवारमा मे. १ च ३०४० नं. को गाडी दुर्घटनामा परी दमक–३ का नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीया माधवप्रसाद बस्नेतको उपचारका क्रममा निधन भएको छ भने अन्य चालकसहित ६ जना घाइते भई उपचारमा रहेको दमक नगरपालिकाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । दमक नगरपालिका वडा नं. १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, वडा नं. ६ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमल कुमार श्रेष्ठ, कार्यालयका अधिकृत छैटौ भुवन दाहाल, अमिन श्री ज्ञानेन्द्र गौतम तथा कानून सहायक नविन खतिवडा सख्त घाइते भई हाल न्यूरो अस्पताल, विराटनगरमा उपचाररत रहेको दुःखद समाचार सम्पूर्ण नगरबासीहरुलाई जानकारी गराउनु पर्दा समस्त नगरपालिका परिवार नै भावविव्हल भएको विज्ञप्तिमा उल्लेख छ । 

साथै, न्यूरो अस्पताल, विराटनगरका चिकित्सकहरुले दिएको प्रारम्भिक जानकारी अनुसार उपचाररत घाइतेहरु हाल खतरामुक्त रहेको जानकारी गराउँदै निजहरुको उपचारका लागि नगरपालिका सजग रहेको छ । साथै, देहावसान हुनुभएका कानून अधिकृत श्री माधव प्रसाद बस्नेतको पार्थिव शरीरलाई आजै कानूनी प्रक्रिया पूरा गरी दमक ल्याइँदै गरेको व्यहोरा सम्पूर्ण नगरवासीहरुलाई जानकारी गराउँदै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दै घाइते हुनुभएका जनप्रतिनिधि तथा कर्मचारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं प्रेसित विज्ञप्तिमा उल्लेख छ । 

घाइते हुनेहरुमा चालक दमक–९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ (दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य), दमक–१० बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी (बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम), दमक–१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम (टाउको र बायाँ गालामा चोट अवस्था मध्यम), दमक–६ बस्ने ५४ वर्षीय कमल श्रेष्ठ (टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य), दमक–२ बस्ने ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट अवस्था सामान्य) र गौरादह–१ बस्ने ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य) रहेका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया