राष्ट्रपति पौडेलद्वारा १०औँ भूकम्प स्मृति दिवसको सन्देश जारी

खगेन्द्र कार्की

इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

१०औँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उनले भने, ‘हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।’

राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परेर ज्यान गुमाउने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको शहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ ।’

नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने उनको भनाइ छ ।

नवनिर्मित एवं पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उनले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्‍याउने सबैलाई सन्देशमा धन्यवाद दिएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया