लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप २०२६ छनौट अन्तर्गत दोस्रो चरणमा

फाष्ट मिडिया नेपाल संवाददाता

नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई मंगलबार दोस्रो लेगमा १–० ले हराउँदै फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । गत साता दशरथ रंगशालमा नेपाल र लाओसले १–१ को बराबरी खेलेका थिए । नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरण स्थान सुरक्षित गरेको हो । फिफा वरीयतामा लाओस १८८औँ र नेपाल १७४औँ स्थानमा छ । नेपालले वरीयतामा आफूभन्दा तल रहेको टोलीमाथि जित निकाल्न निकै मिहिनेत गर्नुपरेको थियो । 

अब नेपाल दोस्रो चरणको समूह ‘एच’मा युनाइटेड अरब इमिरेट्स (युएई), यमन र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै भएको दोस्रो चरणको ‘ड्र’मा यसै समूहमा युएई र बहराइन थिए । यमनले श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणमा एक–अर्कासँग होम एन्ड अवेको आधारमा हुनेछ । 

होम एन्ड अवे गरी नेपालले ६ खेल खेल्न पाउनेछ । समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन् । लाओसको घरेलु मैदानमा नेपाललाई महŒवपूर्ण जित दिलाउने क्रममा मनीष डाँगीले एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको ५३औँ मिनेटमा अञ्जन विष्टको सटिक पासमा गोल गरेका हुन् । एसियन छनोटको दोस्रो चरण स्थान पक्का गर्न नेपाल र लाओसलाई जित आवश्यक थियो । 

लाओसको घरेलु मैदानमा नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेको थियो । मध्यान्तरपछि खेलमा सुधार गर्दै नेपालले लाओसमाथि दबाब राख्यो । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दोस्रो लेगमा तीन खेलाडी परिवर्तन गरेका थिए । लाओसविरुद्ध रक्षक अमृत श्रेष्ठले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनी अन्तिम इन्जुरी समयमा जिलेस्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

दुवै टोलीका गोल प्रयास असफल
लाओसले आफ्नो घरेलु मैदानमा फाइदा लिन सकेन । नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने दाबी गरेको लाओसले मध्यान्तरसम्म खासै गतिलो प्रदर्शन गर्न सकेन । नेपाली खेलाडीले पनि पहिलो हाफमा गोल अवसर चुकाएका थिए । खेलको २२औँ मिनेटमा उत्सव राईको क्रसमा डिबक्सभित्र अञ्जनले गरेको हेडिङ पोस्टनजिक हुँदै बाहिरिएको थियो । यसअघि खेलको १८औँ मिनेटमा लाओसका मिकेल भानको सशक्त प्रहार नेपालका गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूले बचाएका थिए । खेलको २९औँ मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार क्रसबारनजिक हुँदै गएको थियो । 

दोस्रो हाफमा सुधारिएको खेल
दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । युवा खेलाडीले भरिएको नेपालले मध्यान्तरपछि लाओसमाथि दबाब राख्ने प्रयास गरेको थियो । खेलको ६५औँ मिनेटमा मनीषको प्रहारलाई लाओसका गोलरक्षक सेसेभाटले बचाए । खेलको ७३औँ मिनेटमा जिलेस्पीको हेडिङ पोस्टनजिक हुँदै बाहिरिँदा नेपालले दोहोरो अग्रता लिने अवसर गुमाएको थियो । खेलको ८२औँ मिनेटमा अञ्जनको हेडिङले गोलपोस्टको दिशा लिन सकेन । उनले प्रहार गरेको हेडिङ बल पोस्टभन्दा माथि गएको थियो । खेलको अन्तिम इन्जुरी समयमा नेपालका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गर्दै लाओसलाई बराबरी गर्न दिएनन् । किरणले ६ यार्ड बक्सभित्रबाट दायाँ डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया