कुलमानले गरेको प्रगति रिपोर्ट : १६ अर्ब बढीको विद्युत भारतलाई बिक्री

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आवमा रु १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युतगृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ ।

गत आवमा आयातभन्दा रु १२ करोड २३ लाखको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ । आव २०७९र८० मा भारतबाट रु १९ अर्ब ४४ करोड ४० लाखको विद्युत् आयात भएको थियो भने रु १० अर्ब ४५ करोड ५० लाखको निर्यात गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परे पनि निर्यातको परिमाण बढ्दै जाने बताउनुभयो । “छ÷सात वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोसेढुङ्गा हो ।”


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया