नेपाल सम्बत ११४४ सुरु, विभिन्न कार्यक्रमका साथ म्हः पुजा गरिँदै, नेपाल सम्बतकै आधारमा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको बालेनको भनाई

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्बतको सुरुवात गराएका थिए । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए । 

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, मानन्धरले भने । 

यसैगरी सोही विषयमा तथ्यगत रिपोर्ट राख्दै काठमाडौंका मेयर वालेन साहले नेपालले स्वतन्त्र देशको रुपमा संयुक्त राष्ट्र संघमा आवेदन गर्दा धेरै देशले यो भारतको एक प्रान्त ठान्दथे । किनभने मुद्रा, भाषा, लिपि, सम्बत् नेपाल र भारतका एकै थिए । त्यसैले त्यसबेला भारत र सोभियत संघले नेपालले संयुक्त राष्ट्र संघमा सदस्यता हासिल गर्नमा अवरोध गरे । हुन पनि कुनै अलग देश बन्नलाई चाहिने अलग भाषा, संस्कृति, लिपि, सम्बत् आदि तत्कालीन नेपालले देखाउन सकेन । पछि काठमाडौं उपत्यकाका रैथाने नेपाल भाषा, रञ्जना लिपि तथा नेपाल सम्वत् लाई नेपालको मौलिक विशेषता मानेर सोही आधारमा संयुक्त राष्ट्रमा आवेदन दिएपछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो भनेर स्टाटस लेख्दै नेपाल सम्बतको अवसरमा शुभकामना दिएका छन् । 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म)पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया