खबरदारीसभा देशव्यापी बन्ने
काठमाडौं÷सरकार चौतर्फी रुपमा घेराबन्दीमा परिरहेका बेला माओवादी केन्द्रले खबरदारी सभाका नाममा सरकारका विरद्धमा आन्दोलन छेडेको छ । प्रतिपक्षसँग राम्रो सम्बन्ध नभएको सरकारले यतिबेला संसदको आँखा छलेर अनेकन विधेयक ल्याएर कानुन बनाउने रणनीति गर्दै गर्दा माओवादीले उक्त खबरदारी सभाको आयोजना गरेको हो । सरकार विरोधी नेता तथा कार्यकर्ता छानी छानी जेल हाल्ने र कुनै न कुनै मुद्दा लगाएर उसलाई उठ्न नदिने रणनीति बनाएको सरकारका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र अब निरन्तर लागिरहने पनि बताएको छ । माअोवादीले केन्द्रले शनिबार काठमाडौं बृहत खबरदारी सभाको आयोजना गर्दै उक्त कुराको खुलासा गरेको हो ।
सो खबरदारी सभाका प्रमुख वक्ता तथा पूर्वप्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाका सवालमा सरकारलाई गम्भीर चुनौती दिएका छन् । सरकार नसुध्रिए सडकदेखि संसद्सम्मै प्रतिरोध गर्ने चेतावनी दाहालले दिएका हुन्रु । खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर लगायत काण्डबारे प्रश्न गरेका हुन् । उनले भने–‘प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किन भने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सत्ता पक्षीय दलका नेताहरूलाई सच्चिन सुझाव दिए ।
- रातको १२ बजे दलालहरूको घरमा बनेको सरकारले सय दिनमा प्रमाणित गर्यो
खबरदारी सभामा प्रचण्डले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाए ।
अहिलेको सरकार सुशासन विरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकोमा जे चिन्ता गरिएको थियो त्यसलाई सय दिनमा सरकारले आफैले पुष्टि गरेको टिप्पणी गरे ।
माओवादी केन्द्रले खबरदारी सभा गर्न लागेपछि सक्ता गठबन्धनले संविधान विरोधी गतिविधि भन्दै ७ बुँदे विज्ञप्ति निकालेकोमा आपत्ति जनाउँदै सरकार ढाल्नका लागि यो खबरदारी सभा नगरेको बताउँदै उनले भ्रष्टाचारी संरक्षण गर्नतिर नलाग्न सरकारलाई आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भने–‘यो सरकार बनेकोमा हामी र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन । सरकार के का निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, भ्रष्टाचारीहरू बचाउन बन्यो । यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घर घरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेर मैले संसद्मा भनेको थिएँ, सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधि सभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’

- सरकार ढाल्न खबरदारी सभा गरेको होइन, आफै कुहिएर ढल्छ
खबरदारी सभामा बोल्दै प्रचण्डले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफै कुहिएर झर्ने टिप्पणी गरे ।
माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताए । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको टिप्पणी गरे । उनले कांग्रेस र एमालेसँग समीकरण गरेर गल्ती गरेको महसुस गरेको र मन्त्री प्रधानमन्त्री बनाइदिनुस् भनेर नआउने बताए । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै ढुक्कले सरकार चलाउन आग्रह गरे .। उनले माओवादीले अब कांग्रेस एमालेसँग प्रधानमन्त्री र मन्त्री माग्दै नआउने समेत उल्लेख गरे ।
- ज्ञानेन्द्र शाहलाई भेटेको हल्लाको खण्डन
माओवादीले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय भए पनि उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको हल्ला चलाइएको थियो । उनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरे ।
उनले पूर्व राजालाई भेट्ने कल्पना समेत गर्न नसकिने बताए । रवीन्द्र मिश्रलाई भेटेपछि पूर्वराजासँग भेटेको भनेर भ्रामक हल्ला फैलाएको भन्दै आपत्ति जनाए ।
उनले आफूलाई बदनाम गर्न यस्ता कुरा ल्याएको बताउँदै भने–‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन् बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बिच बाटोबाट फर्केको सुनेको छु, मैले भेटेको छैन’– अध्यक्ष प्रचण्डले भने– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भनेको भन्नु सही होला ?’

- रविलाई ओलीले नै जोगाउन खोजेका थिए : ‘भ्रष्टाचार गरेको भए मलाई पनि गिरफ्तार गर
प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाए । उनले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गरे ।
सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोषिता प्रमाणित गर्न भनेको बताए ।
उनले भने–‘तपाईँहरूलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखा पर्यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यति बेलाको सीआईबीसँग त्यति बेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौ, माओवादी पर्यो भने पनि समात्नुस् भनेको हो । अरू हैन प्रचण्ड देखा पर्यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्यो भने बचाउन सभा गर्नुपर्छ ?’
उनले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गरे ।
- प्रचण्डको प्रश्न– भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?
खबरदारी सभामा प्रचण्डले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुगे भनेर पनि सरकारलाई प्रश्न गरे ।
नक्कली भुटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन आग्रह गरे ।

‘नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईँहरूले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भने – ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्नेछ।’
यो देश कांग्रेस एमालेको बिर्ता नभएको उल्लेख गर्दै उनले सङ्ख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने– ‘संसद्को रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’
सरकारले ७० नम्बर ल्याएको भन्दै प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाइ भएको बेलामा संसद् भङ्ग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाइको घमन्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो ।
प्रचण्डको प्रश्न– सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?
खबरदारी सभामा प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरे ।
संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको टिप्पणी गरे ।
आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्य संयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रूपमा गलत व्याख्या गरेको उल्लेख गर्दै उनले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने प्रवृत्तिको विरोध गरेको बताए । पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सह्य नहुने उल्लेख गरे ।

- दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गर्नु गल्ती थियो: प्रचण्ड
प्रचण्डले विगतमा कांग्रेस एमालेसँग सहकार्य गरेर गल्ती गरेको समेत बताए । आफूहरूले खबरदारी सभा राख्ने बित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने– ‘हामीले सरकार ढाल्न खबरदारी सभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरु आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए ।
भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको बताए । अब आफूहरूलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए ।
- म ७० पुगेँ तर फेरि अर्को क्रान्तिको नेतृत्व गर्ने आँट छ
खबरदारी सभामा ठट्टा गर्दै अध्यक्ष प्रचण्डले आफू बुढो हुँदै गए पनि जोस जाँगर भने नमरेको बताए । देशमा अर्को क्रान्ति गर्ने आँट आफूमा रहेको बताउँदै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाउनु अर्को चुनौती पनि रहेको उल्लेख गरे ।
एउटा नयाँ अभियान मार्फत उपलब्धि रक्षा गर्दै अझै उन्नत व्यवस्था ल्याउन चाहेको बताए । अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म भ्रष्टाचार रोक्न नसक्ने बताउँदै निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने उल्लेख गरे ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो