प्रधानमन्त्री कप टि–२० को उपविजेता बन्यो कोशी, उपाधि एपीएफ क्लबको पोल्टामा

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपविजेता कोशी बनेको छ । 

कोशीलाई ११ रनले पछि पर्दै उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबको पोल्टामा परेको छ ।  त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए ।एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १र१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे ।बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । अलिसा खडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १र१ विकेट लिए ।कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसै प्रतियोगितामा कोशी तेस्रो पटक एपीएफसँग नै पराजित भएको हो ।विजेता एपीएफले ५ लाख रुपैयाँ पाएको छ भने कोशीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया