काठमाडौँ । फागुन १ गते जनयुद्ध दिवस । २०५२ साल फागुन १ गतेबाटै नेपालमा माओवादीले जनयुद्धको घोषणा गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । माओवादी केन्द्रको हातमा सत्ता गएपछि उक्त जनयुद्ध दिवसलाई राष्ट्रियकरण गरेर उक्त दिन बिदा नै दिने गरिएको भए पनि विवाद कायमै छ । यस पटक सोही दिन बसन्तपुर दरबारमा पूर्व राजा ज्ञानेन्द्रको हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा हुने भएको छ । सो कार्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी र सामाजिक अभियन्ताको रुपमा एकाएक चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक भएका छन् । हिजो त्यही व्यवस्था ल्याउन योगदान दिएका प्रसाई एकाएक व्यवस्था बदल्ने आन्दोलनमा लागेका मात्र छैनन सो आन्दोलन अझै सशक्त बनाउने बताएका छन् । उनले आउँदो फागुन १ गते काठमाडौँको वसन्तपुर दरबारमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहकै हातबाट उक्त दियो बालेर नेपाललाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने उनले बताए । स्मरणीय छ, फागुन १ गतेलाई माओवादी केन्द्रले जनयुद्ध दिवसका रुपमा मनाउने गर्छ । हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरु भएको थियो । सोही जनयुद्ध र २०६२र०६३ को जनआन्दोलनको जगमा टेकेर नेपालबाट राजतन्त्र ढालियो, धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लागु भयो ।
तर दुर्गा प्रसाईं समूह अहिले यही व्यवस्था ढालेर पुरानै व्यवस्था फर्काउन भनी लागिपरेको छ । फागुन १ गतेबाट हिन्दू राष्ट्र र राजतन्त्र फर्काउन निर्णायक आन्दोलन सुरु गर्ने प्रसाईंको दाबी छ । उनले वर्तमान राज्यसत्तालाई चुनौती दिन यही मंसिरभित्र नागरिक सरकार गठन गर्ने र समानान्तर सरकार चलाउने समेत बताए । नागरिक सरकारमा उनले राष्ट्रवादी शक्तिहरू समेट्ने बताए । रमाइलो कुरा त के भने ‘युटुबर’ भनेर हेपिएका मूलधारको सञ्चारमाध्यमभन्दा बाहिरका सञ्चारकर्मीहरूलाई समेत उक्त सरकारमा समेट्ने प्रसाईंले दाबी गरे । उनी उत्तेजना फैलाएर भीड बटुल्न र असन्तुष्ट जमातलाई आफूतिर तान्नमा माहिर छन् भने आइतबारको उनको अभिव्यक्तिबाट समेत पुष्टि हुन्छ ।
समानान्तर सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म नागरिक सत्ताको अभ्यास थाल्ने दाबी गरेका प्रसाईंले पहिलो चरणको व्यवस्थाविरोधी आन्दोलन सफल भएको बताए । उनले एमालेको युवा संघको दादागिरी अन्त्य गर्न सफल भएको दाबी समेत गरे । तर यथार्थमा भने काठमाडौँ केन्द्रित आन्दोलन चलाएका प्रसाईको पछिल्लो आन्दोलनप्रति यहाँ नागरिक ऐक्यबद्धता देखिन्न । सरकारले समेत काठमाडौँका विभिन्न स्थानमा आन्दोलन तथा कार्यक्रम गर्न निषेध गरेर प्रसाईं समूहमाथि धरपकड गर्दै आन्दोलन नियन्त्रण गरेको थियो । अब उनले गठन गर्ने भनिएको नागरिक सरकार पनि एउटा फण्डा मात्रै हुनसक्ने अड्कल गर्न सकिन्छ । यद्यपि वर्तमान राजनीतिक दलहरूप्रतिको असन्तोष र निराशामा उनले घिउ थप्ने काम गरिरहेकाले उत्तेजक भीड बढ्दै जाने तथा व्यवस्थामाथि खतरा उत्पन्न हुने सम्भावना भने नकार्न सकिन्न ।
पछिल्लो समय प्रसाईंको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लगायत राजनीतिक समूहले समेत ऐक्यबद्धता जनाउन थालेका छन् । राप्रपाको संसदीय दलका उपनेता बुद्धिमान तामाङले प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् । शनिबार उनले दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबी गरे । आफ्नो पार्टीले कार्यकर्तालाई प्रसाईंको आन्दोलनमा जानु या नजान् केही पनि नभनेको तर उनीहरू आफ्नै इच्छाले आन्दोलनमा सहभागी भएको तामाङले दाबी गरे । उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईको कार्यक्रममा गई सम्बोधन समेत गरेको उदाहरण दिँदै राप्रपाले प्रसाईलाई नैतिक समर्थन गरेको बताए । प्रसाईको मुख्य माग राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजी रहेको बताउँदै तामाङले राप्रपाको एजेण्डासँग मेल खाने भएकाले राप्रपाले साथ दिने बताए । राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले साथ दिने उनको भनाइ छ ।
नेता तामाङका अनुसार राप्रपाले पनि यही मंसिर २७ गतेदेखि काठमाडौँ बाहिर आमसभा गर्दैछ । तातेको फलाममा हान्ने रणनीतिअनुरुप दुर्गा प्रसाईले चलाइरहेको व्यवस्थाविरोधी अभियानकै क्रममा राप्रपाले समेत आफ्नो अभियान अगाडि बढाउन लागेको बुझिन्छ । उनले मंसिर २७ गते कैलालीमा, २८ गते महेन्द्रनगर ९कञ्चनपुर०मा र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताए । साथै पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरू घोषणा गर्ने र राजतन्त्रको पुनर्बहालीका लागि सशक्त रुपमा आन्दोलन गर्ने समेत उनले जनाएका छन् । यसरी राजावादी एजेण्डा बोकेर वर्तमान व्यवस्थाको विकल्प पुरानै व्यवस्था फर्काउन लागिपरेका तत्वहरू जुट्दै जाने हो भने।प्रमुख राजनीतिक दल र गणतान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनसक्ने देखिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो