क्षेत्रफल खुम्चिए पनि मौसमअनुकूल भएकाले धानको उत्पादकत्वमा बृद्धि

खगेन्द्र कार्की

दमक/ जग्गा प्लटिङ र बढ्दो शहरीकरणका कारण झापमा यसपाली धान उत्पादनमा कमी आएको छ । जग्गाको क्षेत्रफल खुम्चिएका कारणले पनि त्यसआधारमा धान उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र झापाको विश्लेषण रहेको छ । यद्यपी मौसमको प्रतिकूलताका बावजुद भने ृप्राप्त उपलब्धिमा सन्तोष मान्नुपर्ने पनि केन्द्रको विज्ञहरुको धारणा रहेको छ । तर देशभरिको तथ्यांक हेर्ने हो भने खेती गर्ने जग्गाको क्षेत्रफल घटेपनि उत्पादकत्व भने बढेको केन्द्रको भनाई रहेको छ । तर एउटा सत्य यो हो कि शहरीकरण बढेसँगै धान हुने खेती र उत्पादनमा कमी आएकै हो ।

झापामा ८० हजारको हाराहारीमा लगाइएको धान खेती यो वर्ष भने ७५ हजार ४ सय ५९ क्षेत्रफलमा मात्र  लगाएको हो । यो वर्ष झापामा ३ लाख ८२ हजार ८ सय १२ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र  झापाका प्रमुख सागर विष्टले जानकारी दिए । उनले मौसमी दृष्टिकोणले उपयोगी भएका कारण प्रतिहेक्टर ५.०७ टनका दरले धान उत्पादन भएको बताए । विगत वर्षमा झापामा प्रतिहेक्टर  ४ लाख टनको हाराहारीमा मात्र उत्पादन भएको कार्यालय प्रमुख विष्टको भनाई छ । बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन  घट्दै जानू मुख्य कारण भएको बताउँदै प्रमुख विष्टले बाँझो रहेको जमिनलाई समेत खेतीमा परिणत गराई उत्पादन बढाउनुपर्नेमा जोड दिए  । झापामा  रंजित, सर्ना, कालो नुनिया, बहुगुणी २, राधा १२ लगायतका विभिन्न प्रकारका धानका जातहरुको खेती  गरिन्छ ।

तर उता केन्द्रमा भने देशभरको अवस्था हेर्दा कम क्षेत्रफलमा रोपाइँ भएपनि उत्पादकत्वमा भएको सुधारका कारण उत्पादन ४ प्रतिशतले बढेको बताइएको छ । यो वर्ष सबैभन्दा धेरै ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । रासायनिक मलको उपलब्धता, समयअगावै सुरु भएको मनसुन र उन्नत जातका बिउको बढ्दो प्रयोगले उत्पादनमा सुधार आएको मन्त्रालयको दाबी छ ।

यो वर्ष तुलनात्मक रूपमा कम क्षेत्रफलमा रोपाइँ भए पनि उत्पादकत्वमा सुधार भएकाले समग्र उत्पादन वृद्धि भएको मन्त्रालयको तर्क छ । यसपालि चैते र बर्खे धान १४ लाख २० हजार हेक्टरमा रोपाइँ भएको थियो । गत वर्ष भने १४ लाख ३८ हजार हेक्टरमा दुवै धान लगाइएको थियो । तर, गत वर्ष ५७ लाख २४ हजार हेक्टर मात्रै उत्पादन भएको थियो । यो वर्ष कम क्षेत्रफलमा रोपाइँ भएपनि अघिल्लो वर्षको तुलनामा ४ दशमलव ०४ प्रतिशतभन्दा बढी धान उत्पादन भएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले धानखेतीका लागि मौसमी अनुकूलता र रासायनिक मल तथा हाइब्रिड बिउबिजनको सहज उपलब्धताले उत्पादनमा सुधार आएको बताए । ‘यो वर्ष असारमा रोपाइँ गर्न समयमै मनसुन भयो । रासायनिक मलको वितरण पनि विगतको भन्दा अलि सहज भयो,’ उनले भने, ‘उन्नत जातको बिउको प्रयोगले धान धेरै फल्ने क्षमता पनि बढेको छ ।’

असोजमा आएको बाढीले ६५ हजार तीन सय ८० हेक्टरमा क्षति गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रमा कुल पाँच अर्ब ८८ करोडको क्षति भएको थियो । तर, तराईको धानखेतमा कम क्षति पुगेकाले उत्पादनमा ठूलो प्रभाव नपरेको मन्त्रालयको भनाइ छ । उत्पादनमा सुधार भए पनि कुल माग धान्न नसकेकाले चामल र धान आयात बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आव २०८१÷८२ को कात्तिक मसान्तसम्म भारतबाट ६ अर्ब ८४ करोड रुपैयाँको धान र चामल आयात भइसकेको छ  । यो वर्ष मधेशमा सबैभन्दा धेरै १४ लाख ८० हजार आठ सय ३० टन धान उत्पादन भएको छ । त्यसपछि कोशीमा १४ लाख ६६ हजार पाँच सय १८ टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । सबैभन्दा कम कर्णालीमा एक लाख ३० हजार एक सय ९१ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । यो वर्ष बागमती, गण्डकी र कर्णालीमा गत वर्षको भन्दा कम उत्पादन भएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया