पुर्खाको सम्मानमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

खगेन्द्र कार्की

खगेन्द्र कार्की

‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन ।’ हाम्रा पुर्खा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश हो । इतिहास त्यतिकै बन्दैन । इतिहास बनाउन ठूलो जुक्ती, ज्ञान, विवेक, अठोट, निष्ठा, बलिदान र योगदान आवश्यक रहन्छ । इतिहास इतिहासै हो यो कसैले चाहेर पनि मेट्न सक्दैन । सनकको भरमा गरिएका इतिहासप्रतिको प्रहार त्यतिकै खेर जान्छ । त्यो कुरालाई आज मनाइँदै गरेको पौष २७ अर्थात ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले पुष्टि गरिसकेको छ । पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरवान्वित हुनुपर्दछ र छौ ।  

परिवर्तनका नाममा इतिहासप्रति हुने प्रहारहरु बिस्तारै निष्फल हुँदै गईरहेका छन् । खास गरेर नेपाल राष्ट्र निर्माणमा गोरेटो बनाउने सन्दर्भमा जोडिएका इतिहासप्रति देशमा गणतन्त्र स्थापनापछि अत्याधिक मात्रामा आक्रमण भए पनि त्यसपछिका दिनले बिस्तारै इतिहासप्रतिको विद्रोहमा पानी खन्याउने काम भईरहेको छ । राष्ट्रिय एकता दिवसलाई गणतन्त्र स्थापनामा योगदान दिनेहरुले गरेको प्रहार अहिले उनीहरु आफै फिर्ता लिँदैछन्, बुझ्दैछन । हिजोका दिनमा सबै राजतन्त्रका पक्षधर पछि लोकतन्त्रका पक्षधर बन्यौ र गणतन्त्रसम्म आइपुग्यौ । हरेक परिवर्तनमा यो वा त्यो भन्ने हुँदैन सबैको साझा प्रयासबाट परिवर्तन सम्भव भएका हुन् र ती परिवर्तनलाई हरेक शासकले आत्मसाथ गरेर एउटा सिंगो मुलुकको लागि विशेष दिनको रुपमा छुट्टै सन्देश जाने गरी मनाउन आवश्यक देखिन्छ । त्यो दिन सबैका लागि मान्य हुने र सवपक्षीय बन्ने, विभिन्न जातजाति, धर्म र सम्प्रदायलाई समेटेर एकता बाँध्ने दिनको रुपमा यहि पुस २७ बनेको छ । तर यसलाई संस्थागत गर्ने कुरामा, राष्ट्रिय दिवस बनाउने कुरामा कन्जुस्याई मात्र गरिएको छैन शासकको गलत प्रवृत्ति र आफु मात्रै राम्रो भन्ने निकृष्ठ सोचले यि विषयलाई छायामा पार्न खोजिनु गलत भएको अहिले पुष्टि भईसकेको छ । 

पृथ्वीनारायणले सिंगो नेपाल निर्माणको अभियान सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने ठाउँ नै थिएन । ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश सक्थ्यो वा सक्दैनथ्यो त्यो इतिहासले देखाइसकेको छ । सम्भवतः नेपाल र नेपाली भन्ने नै हुँदैनथ्यो । 

नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिकलगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार पृथ्वीनारायणले नै तयार पारेका हुन ् । अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा सफल भएको हो । संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान युगौयुगको सुन्दर फुल हो जसलाई कहिल्यै बिर्सन सकिन्न र स्वाभिमानी नेपालीले बिर्सन हुँदैन । 

खास गरेर आज पौष २७ गतेको ऐतिहासिक पृष्ठभूमिका सन्दर्भमा नयाँ परिस्थितिको छायाँमा पर्नु हुन्न भन्नेहरुको आवाज बढ्दै गईरहेको सन्दर्भमा आज सो दिवस मनाइँदै । नेपाल राष्ट्र निर्माण जसले यस धर्तिमा नेपाल नामक देशको नागरिक भएर नेपालीको शानदार चन्द्रसूर्य अंकित झण्डामुनी गोलबद्ध हुन सकेका छौं । विश्वभर नेपालको छुट्टै पहिचान कायम गर्न सकेका छौं । पृथ्वीनारायण शाहले त्यसबेलाका बाइसे, चौबीसे राज्य एकिकरणमा योगदान नदिएको भए सम्भवतः हामी नेपाली नभएर आधा चाइनिज र आधा भारतीय भइसक्ने थियौं भन्ने हेक्का यो दिवसको स्मरणमा हुन आवश्यक देखिन्छ ।  

२७ पुस राजा पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मात्र होइन, यही दिनलाई नेपालमा ‘राष्ट्रिय एकता दिवस’ को रूपमा समेत मनाइँदै आएको छ ।

साझा रुपमा विवादरहित ढंगले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहँदा यसको सन्देश विश्वसामु पुग्ने र नेपालीको वीरताको गाथाले विश्व चकित हुने गर्दछ । यसैको परिणती वीर गोर्खालीहरुको चामत्कारिक युद्ध कौशलको तारिफकै कारणले विश्वमा सुरक्षासँग सम्बन्धित ठाउँमा नेपालीहरुले स्थान पाएका छन् । नेपाल र नेपालीको छाती गर्भले फुलाएका छन् । शिर उँचो पारेर विश्वमा हिड्ने आधार तयार गरेका छन् । पृथ्वीनारायण शाहको त्यो वीरता, कला, कौशल र कुटनीति नभइदिएको भए सम्भवतः नेपाल सिंगो मुलुक आज हुनसक्ने थिएन भन्ने बुझ्न जरुरी छ ।  

राष्ट्रिय गौरवको महत्वपूर्ण दिन पुस २७ राष्ट्रिय एकता दिवसको रुपमा मनाउने दिन हो । यो दिवसको सन्दर्भमा कुनै तिथिमिति वा यो वा त्यो भन्ने सन्दर्भमा यो दिन जोडिनु इतिहासप्रतिको बेइमानी ठहर्नेछ । नेपालीको शिर उँचो बनाउने यो दिन सबैको साझा दिन बन्न जरुरी छ । 

राष्ट्र निर्माणदेखि आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक विकासको उपल्लो चरण त्यो बेलाका शासकले पार गरेका र उनीहरुले बनाइदिएको धरातलमा टेकेर अहिलेको शासकीय स्वरुप, रहनसहन, बोलि व्यवहारमा परिमार्जनसहित अनुकरण र अनुशरण भएका हुन भन्दा गलत नहोला । पृथ्वीनारायण शाहले नेपाल चार जात, छत्तिस जातको फुलबारी हो भनेर गरेको एकिकरणको समयमा होस् वा मृत्युवरणको केही मिनेट वा सेकेण्डमा नेपाल र नेपालीको हितमा आफ्ना अमूल्य वाणीहरु निकालिरहेका थिए, सम्झाईरहेका थिए, चिन्ता प्रकट गरिरहेका थिए । जसलाई हामी पृथ्वीनारायण शाहका दिव्योपदेश 

(महानवाणी) भनेर तिनै दिव्योपदेशहरुलाई व्यहारमा, कुराकानीमा वा बोलि र व्यवहारमा लगानी गरिरहेका छौं । शाहवंशीय इतिहासमा भएका आधारभुत धरातलमा टेकेर हामी हामी गणतन्त्रको सिंगो जगमा उभिएका हौ । धेरै शाहवंशीय राजाहरुले नेपालीको हितमा ठूला ठूला परिवर्तनका कामहरु गरेका छन् । पछिल्लो समयमा गणतन्त्रले फ्याँकिएका ज्ञानेन्द्र शाहलाई नै सम्झने हो भने उनले नेपाल र नेपाली जनताका लागि गरिको त्याग अनुकरणीय छ । त्यो त  त्यो अगाडि पनि रणबहादुर साह र राजेन्द्र विक्रम शाहले समेत गद्दी त्याग गरेका प्रमाणहरु छन् । शासकले गर्नुपर्ने त्यागमा वर्तमान शासकहरु धेरै पछाडि देखिन्छन् । बहुसंख्यक जनताले तिरस्कार गर्दा गर्दै पटक पटक सत्ता लोलपुता देखाउँदै बसिरहने परिपाटी अहिलेका शासकमा देखिएको छ । ३ पटक, ४, पटक ५ पटक प्रधानमन्त्री बन्ने मात्र होइन राष्ट्रपति जस्तो जिम्मेवार र गरिमामय पदमा समेत व्यक्ति दोहो¥याइनुले जनता भन्दा पद ठूलो मान्ने नेतृत्व नेपालमा हावी भएको प्रष्ट देखिन्छ । प्रधानमन्त्री वा राष्ट्रपतिबाट भए गरेका गतिविधि र आजको राजनीतिक दाउपेचलाई हेर्ने हो भने त्यो बेला जे आवश्यकता थियो त्यो राजाहरुले गरेका थिए तर त्यो जनतालाई शिरोपर मानेर गरिएका थिए तर आज गणतन्त्रको नाममा मनपरीतन्त्र गरिएको छ । आफ्ना र आफन्त अनि दल र नेतालाई मात्र च्यापिएर बहुसंख्यक नेपाललाई पाखा लगाएको छ । नेपालमा गणतन्त्रपछिका कुनै पनि प्रधानमन्त्री साझा बन्न नसक्नु गणतन्त्र र नेपालकै लागि दुर्भाग्य भएको छ । प्रधानमन्त्री बन्ने प्रक्रियामा सहभागी एउटा समूहको भए पनि त्यसपछि उसले पाउने प्रधानमन्त्रीको कुर्सी साझा हुनुपर्नेमा त्यो हुन नसक्नुलेले पनि शाहवंशीय राजाहरुको इतिहासले जनजनमा पोल्ने गरेको छ । यहि सन्दर्भमा मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको त झनै छुट्टै अस्तित्व बोकेको छ । 

“मेरा साना दुखले आज्र्याको मुलुक होइन, सबै जातको फुलबारी हो । सबैलाई चेतना भया, यो फुलबारीको छोटाबढा चारैजात छत्तिसै वर्णले (सम्भार गर्नु)” भनेका छन त्यति मात्र होइन विभिन्न जातजाति, धर्म र सम्प्रदायलाई एकतामा बाँधी राख्न अनेकन प्रयत्न गरेका छन् । मितेरी साइनो लगाएर वा विभिन्न जातिहरुको संरक्षण गरेर उनले एकताको सन्देश दिएका थिए । अहिले पृथ्वीनारायण शाहलाइ खसबादी राज्य बनाउने खलनायक भनि गालि गर्नेहरुलाई उनले आफ्नो दिब्योपदेशमै राज्य सबैको साझा भएको र सबैको सहभागिताले राज्य सुन्दर हुने समेत बताएका थिए । उनलाई अहिलेका जनजाति नेताहरुले खसबादी राज्यका सुत्रधार भनेपनि उनले आफुलाई मगरातको राजा भन्दै गुरुङ, मगर, ठकुरी, खस र ब्राह्मणको समान भूमिकाले मात्र राज्य सुरक्षित हुने कुरा दिब्योपदेशमा उल्लेख गरेका थिए ।

“.... गुरुङ, बस्न्यात पन्थ, भैयाद, मगरलाई पालैपालो गरि खान दिनु, यी मेरा नुनगुनका स्वझा सेवक हुन्.....गुरुङ, मगर, खानाज्यादा, भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जांची घुँडा गौंडामा राषनु......अदालथमा पनि ठकुरी जाँची डिठ्ठा राषनु, मगर जाची विचारी थप्नु, कचहरी पिछे यकयक पण्डित राषी निञाँशास्त्र बमोजिम अदालत चलाउनु” भन्ने कुरा दिब्योपदेशमा उल्लेख भएकोबाट राज्यमा सबै जातजातिहरुको सभागिता हुनुपर्ने कुरालाई राज्यले नीतिगत रुपमा नै स्वीकार गर्नुपर्ने कुरालाई जोड दिएको पाइन्छ ।

तात्कालिक गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने । साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्यसहित धेरै राज्यलाई एकीकरण गरेका थिए । उनको मृत्यु ५२ वर्षको अल्पआयुमै भएको थियो तर के कारणले उनको मृत्यु भयो भन्ने एकिन तथ्य भने कहिँ भेटिएको छैन । उनको मृत्यु नुवाकोटको देवीघाटमा भएको इतिहासले बताउँछ । जब राष्ट्रिय भन्ने विषय आउँछ, तब यो आमसरोकारको विषय बन्छ र बन्नुपनि पर्छ । सैद्धान्तिक रूपमा राज्य, राष्ट्र, राष्ट्रिय, राष्ट्रियता, राष्ट्रवादजस्ता विषयहरूमा अस्पष्टता हुनु हो ।  राष्ट्रका निम्ति अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान र छवि बनेको त्यो शाहवंशीय कालको ति क्षणहरु, इतिहासहरु अहिले गणतन्त्रवादीको नामबाट हुने विदेश भ्रमणले मु्खरित गरिरहेको छ, गिज्याईरहेको छ । पछिल्लो उदाहरण हेर्ने हो भने वर्तमान प्रधानमन्त्रीको भारत भ्रमणप्रतिको लालसा र त्यो भ्रमणलाई सहजीकरण भारत गएकी परराष्ट्र मन्त्री आरजुको भारतीय पक्षको बेवास्ताले पुष्टि गरिसकेको छ । खास गरेर नेपाली शासकका पछिल्ला विदेश नीतिमा ठूलो फेरबदल आइसकेको भए पनि विदेश नीतिको पृष्ठभूभि भने तिनी शाहवंशीय राजाहरुकै शैली र व्यवहार गर्दै आइरहेको पाइन्छ । पृथ्वीनारायण पछिका शाहवंशीय राजाहरुको अतुलनीय योगदानकै कारण आज नेपालीहरु पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मको भुभागलाई नेपाल मानेर विश्वमा उच्च शिर, घमण्ड र छुट्टै पहिचानका लागि हिंड्ने अवसर प्राप्त गरेका छन् ।

सबै जनताको  समान आकांक्षा प्रतिबिम्बित गराउन र सबैलाई एकै सूत्रमा आवद्ध गराउन राष्ट्रिय दिवसको एकदमै महन्व हुन्छ । ऐतिहासिक रूपमा राष्ट्रिय दिवसको सान्दर्भिकता पुष्टि गर्न सकिने खालको हुनुपर्छ । राष्ट्रिय दिवस कहिले र किन मनाउने भन्ने विषय जति महत्वपूर्ण छ, त्यत्तिकै महत्पूर्ण यसलाई कसरी मनाउने भन्ने विषय हुन्छ । व्यावहारिक रूपमा राष्ट्रलाई समेटी ऐेक्यवद्ध गराउन सके र सबैलाई समेटेर मनाउन सकिए धेरै हदसम्म राष्ट्रिय दिवस कहिले र किन मनाउने भन्ने कुरा खोजीको विषय हुँदैन । विभिन्न देशको प्रचलनहरूले पनि यही कुरा पुष्टि गर्दछ । 

नेपालको राष्ट्रिय एकता दिवस मनाउँदा समग्र नेपाली राष्ट्रको पहिचान र भावनाको प्रतिबिम्बित हुनुपर्छ । राजनीतिक रूपमा आ–आफ्ना विचारहरूलाई शान्तिपूर्ण र मर्यादित तरिकाले राख्न सकिन्छ । विचारको विविधता र कार्यान्वयनका अवधारणाहरूमा प्रतिस्पर्धा हुनु राम्रो हो ।  तर, विचारबाहेक जब भावना र आस्थाको कुरा आउँछ, तब हामी आफ्नो विश्वास ‘वा आफूलाई लागेको सत्य’ अरूमाथि थोपार्न सक्दैनौँ ।  

राष्ट्रिय एकता दिवस सबै नेपाली पहिचान, संस्कृति र मनोविज्ञानलाई समेट्न फरक पहिरन लगाउने दिन, फरक मौलिक परिकार खाने दिन, फरक ठाउँ घुम्ने दिन पनि हुन सक्छ । किराँतहरूसँग क्षत्रीहरू सँगै नाच्ने, दलितहरूसँग बाहुनहरू बसेर जाडोमा पिँडालु र सखरखण्ड खाने, तामाङको पोशाक थारूले लगाउने, मधेसीसँग हिमाली साथीले मीत लगाउने, मगरको गीत गुरुङले गाउँदा थकालीले ताली पिट्ने, पश्चिमेलीले पूर्वीय भाका गुनगुनाउँदा पूर्वेलीले देउडा गाउने दिन पनि हुनसक्छ । समग्रमा भन्नुपर्दा, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताहरू प्रति समभाव राख्दै नेपालको हित र नेपालीको एकता प्रति समर्पित हुने दिन हुनसक्छ राष्ट्रिय एकता दिवस तसर्थ यो एक दिनलाई वर्षकै भव्य, सभ्य र इतिहासप्रति न्याय हुने दिनका रुपमा मनाउन सक्ने वातावरण तयार गर्नु सरकारको दायित्व रहन्छ । 

खगेन्द्र कार्की
प्रतिक्रिया