फाष्ट मिडिया नेपाल न्युज डेक्सइटहरी । किर्ते प्रमाणपत्रबाट मेडिकल व्यवसायीदेखि सांसदसम्म बनेको आरोप लागेका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट मोरङ(३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको हो ।शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बिहीबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यसबारे सिआइबीले संसद सचिवालयलाई जानकारी गराएको छ ।‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ ।सिआइबीका अनुसार कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्र पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ ।सोही क्रममा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट शर्माको आइएससीको सर्टिफिकेट नट भेरिभाइड लेखी आएको उल्लेख गरिएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सांसद शर्मालाई आज काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
खगेन्द्र कार्की
२६ साउन २०८०, शुक्रबार ०९:४१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो