झापा । झापाबाट रोजगारीका लागि विदेश गएका एक सय ८ नेपालीले नागरिकता परित्याग गरेका छन् ।
अन्य देशको पिआर लिइसकेका गैर आवासीय नेपालीहरुले देशको नागरिकता त्याग्नुपर्ने नियम अनुसार झापाबाट गत आर्थिक वर्षमा ठूलो संख्यामा नागरिक त्याग गरेका जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले जानकारी दिए ।
उनका अनुसार सोहि आर्थिक वर्षमा १८ हजार २२ जनाले वंशजका आधारमा र ६९२ जनाले वैवाहिक अंगिकृतका आधारमा गरी १८ हजार ७१४ जनाले नागरिकता लिएका छन् ।
यस आर्थिक वर्षमा प्रतिलिपि नागरिकता निकाल्नेको संख्या झण्डै नयाँ नागरिकता बनाउनेकै हाराहारीमा रहेको पाइएको उनले जनाए ।
झापामा गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै १४ हजार ८४३ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । राष्ट्रिय परिचयपत्र लगायतका लागि समेत कतिपय पुराना भएका नागरिकताहरू तथा हराएका नागरिकताहरू पुनः आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरूको संख्या बढेका कारण पनि यो संख्या बढेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
यसैगरी झापामा यस आर्थिक वर्षमा मात्रै एक लाख ३५ हजार ३२१ जनालाई सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ भने यस अवधिमा ५१ हजार ३२४ जनाको परिचयपत्रका लागि आवेदन संकलन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि अहिले झापाका १५ वटै स्थानीय तहमा अभियान समेत सञ्चालनमा रहेको जिल्ला प्रशासनले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो