इटहरी । कोशी प्रदेशमा विभिन्न घटनामा परी ६ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार सडक दुर्घटनामा परेर झापा, मोरङमा गरी ४ जनाको ज्यान गएको छ भने भोजपुरमा करेन्ट लागेर एकजना र पााचथरमा लडेर एकजनाको ज्यान गएको छ ।
झापा र मोरङका विभिन्न स्थानमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । काँकडभिट्टामा भारतीय स्कारपियो गाडीको ठक्करबाट एक पैदलयात्री महिलाको शनिबार मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नम्वर –६ फाईरिङ चोकस्थित पूर्वपश्चिम राजमार्गमा इटाभट्टाबाट भारतको पानीट्यांकीतर्फ जाँदै गरेको डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कोरपियो गाडीले मेचीनगर नगरपालिका ६ साठीबिघा बस्ने अन्दाजी ५८ वर्षीया माला थापालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
घाइते थापालाई उपचारको लागि चालक भारत पानीट्यांकी बस्ने २१ वर्षीय विकास बिष्ट आफैले गाडीमा हालेर बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए । ती महिलाको उपचारका क्रममा सोही राती १०.३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
यस्तै उर्लाबारी नगरपालिका–५ स्थित सडकमा प्रदेश १–०२–०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङकै रंगेली नगरपालिका–३ रंजनीस्थित सडकमा को.२ त ५५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–३ दक्षिण टोल बस्ने १८ वर्षीय सुरज पासवानको मृत्यु भएको छ । सुरजले उक्त ट्याक्टर चलाउने क्रममा दुर्घटना भई गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता विराटनगर महानगरपालिका–१४ स्थित सडकमा जेएच १५ जे ७१०३ नम्बरको ट्रक र प्र.१–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सोही महानगरपालिका–१५ मिल्स एरीया बस्ने बैजनाथ ठाकुरको छोरा मोटरसाइकल चालक १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी, भोजपुर र पाँचथरमा करेन्ट लागेर र लडेर दुईजनाको मृत्यु भएको छ ।शनिवार दिउँसो २.४५ बजे भोजपुर षडानन्द नगरपालिका वडा न.४ काभ्रेमा प्र.१–०२–००२ ख ००९८ नम्वरको ट्रकबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा अचानक पोल बिद्युत तारमा छुन गई मजदुरी गर्ने सोही ठाउँका २९ वर्षीय आशिष राई करेन्ट लागेर घाइते भएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र दिङ्लामा उपचार भइरहेकोमा उपचारका क्रममा साँझ ७.१० बजे मृत्यु भएको हो । यता शनिबार दिउँसो ३ः३० बजे पाँचथर याङवरक –१ समरजुङ बस्ने ३३ वर्षीय साजन राई सोही ठाउँका नवराज राईको दाउरा बोक्ने क्रममा अचानक बेहोस भई लडेका थिए । उनलाई घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो