सरकारलाई पूर्णता दिन रास्वपाको प्रतिक्षामा सरकार

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । पटक–पटक सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै केही समय बाँकी मन्त्रालय आफैंसँग राख्ने भएका छन् ।

यसअघि विश्वासको मत लिँदा होस् वा त्यसपछि नै किन नहोस्, प्रधानमन्त्री प्रचण्डले पटक–पटक सरकारलाई पूर्णता दिएर नतिजा निकाल्ने गरी काम गर्ने बताउँदै आएका छन् । 

‘मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले छलफल गर्दै आउनुभएको छ तर पछिल्ला केही दिनयता नयाँ–नयाँ कुरा आइरहेका छन्, त्यसैले जेठ १५ गतेको बजेट अगाडि मन्त्रिपरिषद्ले पूर्णता नपाउन पनि सक्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजी सहमतिमा र सबैलाई विश्वासमा लिएर अगाडि बढ्न तयार हुनुहुन्छ । यसैले ढिलाइ भए पनि अझै केही समय कुरेर भए पनि बढीभन्दा बढी समर्थन जुटाएर जाने कि भन्नेमा हुनुहुन्छ ।’ 

वैशाख १० गतेको निर्वाचनमा तनहुँ र चितवनमा रास्वपाले सानदार जीत दर्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड आफैंले बधाई दिन रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए । यो फोन संवादमा प्रचण्डले सरकारमा सहभागी हुन रविलाई आग्रह गरेको बुझिएको छ । तर रविले आफूहरूले यसअघि लिएको गृह सहितका मन्त्रालय पाउनुपर्ने, सरकार कम्तीमा २ वर्ष जाने ग्यारेन्टी हुनुपर्ने सहितका शर्त राखेको बुझिएको छ ।

रविले पनि पार्टीमा आवश्यक सल्लाह गर्न केही समय आवश्यक भएको संकेत गरेपछि प्रधानमन्त्री प्रचण्डले समय ‘होल्ड’ गर्ने नीति लिएका हुन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ ।

दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अब सभापति लामिछाने दलको नेता बन्नेछन् ।

शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । पार्टी संसदीय दलको बैठक सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ ।

००००

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाको रङ अझैसम्म स्पष्ट नभएको टिप्पणी गरेका छन् ।

राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु पुगेका उनले पत्रकारसँग कुरा गर्दै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याएको भए पनि अझै उसको रङ भने स्पष्ट हुन नसकेको बताए ।

००००

राजधानीको कपनमा व्यवसाय सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्यामा संलग्न आरोपी ९ दिनपछि पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा झापाका विनोद विकलाई पक्राउ गरेको हो । 

कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा हत्या भएको थियो । घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको थियो भने शुक्रबार मात्रै छानबिन समिति गठन भएको थियो ।

००००

दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत  रोजगारीका  लागि  दक्षिण  कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म भाषा  परीक्षा सञ्चालन भएको थियो ।

००००

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने,  भ्रम सिर्जना गर्ने,  कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने भएको छ । 

परिसंघको वैशाख १४ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

००००

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् । 

गत फागुन ३ गते राति बुद्धनगर आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

००००

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो । राष्ट्रपतिको दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थानमा उपचार हुँदै आएको छ । उनको आज डिस्चार्ज हुनसक्ने बताइएको छ । 

००००

नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध गरेका छन् । १ नम्बर प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएको भन्दै जातीवादीहरुले झापामा आयोजित आमसभामा ओलीमाथि आक्रमण गरेकोप्रति राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमार्फत विरोध गरेको हो ।

००००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक अधोगतितर्फ धकेलिएको बताएका छन् ।

एमाले पाँचथरद्वारा फिदिममा शनिवार आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमाले सरकारबाट बाहिरिए पछिको दुई वर्षको अन्तरालमा देश अधोगतितर्फ धकेलिएको बताए । मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने उनको जिकिर थियो ।

००००

नेपालमा पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपचारका क्रममा शनिबार उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ३० पुगेको छ ।

००००

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ ।

शनिवार अपराह्न काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ नेपालका नेता, कार्यकर्ताहरूले अयोग्य लडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री प्रचण्डको पुप्ला दहन गरेका हुन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलन र धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार तथा अनुसन्धानमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग राख्दै शुक्रवारबाट धर्ना शुरु गरेका छन् । शनिबार नै राप्रपाका नेताहरु पनि ऐक्वबद्धता जनाउन पुगेका थिए । 

००००

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । वर्षाले तीनपटकसम्म बिथोलेको खेल आफ्नै नियन्त्रणमा हुनुको बाबजुद रद्द हुँदा पनि नेपाल फाइनलमा पुगेको हो । खेल रद्द भए पनि नेपाल प्रतियोगितामा समूह एको विजेता बन्दै फाइनलमा पुगेको हो ।

खगेन्द्र कार्की
प्रतिक्रिया