दमक । दमक नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको जीवनस्तर र समग्र विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै सेवा विस्तार, प्रविधिको प्रयोग, रोग नियन्त्रण तथा रोकथामका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। तर नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच र पूर्वाधारमा सुधार भइरहँदा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भने तीव्र रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा नगर क्षेत्रमा ३ हजार २ सय ३६ वटा मानसिक स्वास्थ्यसम्बन्धी केस रहेकामा २०८१र८२ मा यो संख्या बढेर ५ हजार ९ सय १ पुगेको थियो। चालु आर्थिक वर्ष २०८२र८३ मा मानसिक स्वास्थ्यसम्बन्धी केस ७ हजार १ सय ७३ पुगेको छ।
त्यसैगरी डिप्रेसनका बिरामीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८०र८१ मा २०१ जना डिप्रेसनका बिरामी रहेकामा पछिल्लो तथ्यांकमा यो संख्या बढेर १ हजार ५ सय ६२ पुगेको स्वास्थ्य शाखाले जनाएको छ। मानसिक स्वास्थ्यका बिरामीको बढ्दो संख्या नगरपालिकाका लागि आगामी वर्षको स्वास्थ्य कार्यक्रम निर्माणमा प्रमुख चुनौतीका रूपमा देखिएको छ।
डेंगी संक्रमणको जोखिमसमेत कायमै रहेको छ। नगरपालिकाको तथ्यांकअनुसार पछिल्लो वर्ष दमकमा २८ जना डेंगीका बिरामी भेटिएका छन्। त्यसलाई ध्यानमा राख्दै आगामी वर्ष डेंगी नियन्त्रण तथा रोगको रोकथामसम्बन्धी अभियानलाई थप प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ।
दमक अस्पतालको सेवा सुधार
वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहताले प्रस्तुत गरेको विवरणअनुसार दमक अस्पतालले न्यूनतम सेवा मापदण्ड ९एमएसएस० मा ८४ प्रतिशत उपलब्धि हासिल गरेको छ। यसलाई कोशी प्रदेशकै राम्रो उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
नगरपालिकाले नागरिकलाई सामान्य स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने अवस्था कम गर्ने उद्देश्यले नगर अस्पतालको सेवा तथा प्रविधि विस्तार गर्दै आएको जनाएको छ। आधारभूत स्वास्थ्य केन्द्रहरूलाई समेत प्रविधिसँग जोडिएको र स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाइएको नगरपालिकाको दाबी छ।
दमक नगरपालिकाले ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई विगत तीन वर्षदेखि घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। यसले ज्येष्ठ नागरिक तथा विशेष अवस्थाका नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता कम गरेको नगरपालिकाको भनाइ छ।
त्यसैगरी नगरका पाँचवटा स्वास्थ्य संस्थाबाट निःशुल्क प्रयोगशाला सेवा सञ्चालनमा ल्याइएको छ। बाँकी स्वास्थ्य केन्द्रमा पनि प्रयोगशाला सेवा विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।
खोपमा ९५ प्रतिशतभन्दा बढी पहुँच
नगरपालिकाको स्वास्थ्य क्षेत्रमा नियमित खोप कार्यक्रम प्रभावकारी देखिएको छ। दुई वर्षमुनिका बालबालिकाको नियमित खोपको पहुँच ९५ प्रतिशतभन्दा माथि पुगेको स्वास्थ्य शाखाले जनाएको छ। दमकलाई पूर्ण खोप सुनिश्चितता भएको नगरका रूपमा घोषणा गरिएको छ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरीलाई दिइने एचपीभी खोपको पहुँच लक्षित समूहमा ९९ प्रतिशतभन्दा बढी पुगेको तथ्यांक पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
स्वास्थ्य शाखाका अनुसार खोप, मातृ तथा बाल स्वास्थ्य, प्रयोगशाला सेवा र ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य सेवाजस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
आगामी वर्ष मानसिक स्वास्थ्यदेखि क्षयरोगसम्म अभियान
नगरपालिकाले आगामी आर्थिक वर्षमा मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने तयारी गरेको छ। विद्यालयमा दाँत तथा आँखा परीक्षण, नसर्ने रोगसम्बन्धी अभियान, पोषण परीक्षण तथा कुपोषण व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
त्यसैगरी क्षयरोगमुक्त नगरपालिका अभियान, स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाको दर्ता तथा नियमनलाई प्रभावकारी बनाउने, स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा विस्तार गर्ने र नागरिक आरोग्य सेवा केन्द्रमार्फत थप स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ।
बजेट कार्यान्वयनमा भने सुधारको आवश्यकता
स्वास्थ्य क्षेत्रमा सेवा विस्तारका योजना अघि बढिरहे पनि बजेट कार्यान्वयनको अवस्था भने अपेक्षाअनुसार बलियो देखिएको छैन।
समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार संघीय बजेटतर्फ १२ करोड ६३ लाख रुपैयाँ विनियोजन भएकामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४६।०८ प्रतिशत रहेको छ।
त्यस्तै नगरपालिकातर्फ १ करोड ४ लाख रुपैयाँ बजेट रहेकोमा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम र वित्तीय प्रगति करिब ४७ प्रतिशत रहेको जानकारी दिइयो। यसले स्वास्थ्य क्षेत्रमा कार्यक्रम विस्तारसँगै विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने देखाएको छ।
निजी क्षेत्रलाई नगर स्वास्थ्य प्रणालीसँग जोड्ने प्रयास
कार्यक्रममा नगरप्रमुख रामकुमार थापाले दमक अस्पतालले पछिल्लो समयमा हासिल गरेका उपलब्धि र आगामी दिनमा त्यसलाई संघीय तथा प्रदेश तहसँग कसरी जोड्ने भन्ने विषयमा समीक्षा आवश्यक रहेको बताए।
उनले दमकमा निजी क्षेत्रका स्वास्थ्य संस्थाको समेत बाक्लो उपस्थिति रहेकाले ती संस्थालाई नगरपालिकाको स्वास्थ्य प्रणाली र दमक अस्पतालसँग समन्वय गरेर अघि बढाउनुपर्नेमा जोड दिए।
नगरप्रमुख थापाले वडा तहसम्मका स्वास्थ्य संस्थाको अनुगमन गरी राम्रा अभ्यासलाई माथिल्लो तहसम्म पुर्याउने र कमजोरी देखिएका क्षेत्रमा सुधारका लागि सुझाव दिन जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गरे।
उनका अनुसार स्थानीय तहमा स्वास्थ्य सेवाको जिम्मेवारी बढेसँगै नगरपालिकाले अस्पताल र स्वास्थ्य संस्थाको क्षमता मात्र विस्तार गरेर पुग्दैन, उपलब्ध सेवाको गुणस्तर, नागरिकको पहुँच र सेवाबीचको समन्वयलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्छ।
जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन र समन्वयमा जोड
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले दमकको स्वास्थ्य क्षेत्रमा प्रगति राम्रो देखिएको बताए। उनले खोप कार्यक्रमको प्रगति पनि ८५ प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै स्थानीय तहमा दमक नगर अस्पताल प्रदेशकै नमुना अस्पतालका रूपमा अघि बढिरहेको बताए।
उनले नगरका स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, खोप, रोग नियन्त्रण तथा अन्य स्वास्थ्य कार्यक्रमको प्रभावकारिता बढाउन नियमित अनुगमन र समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्ष तथा जनप्रतिनिधि, दमक अस्पतालका पदाधिकारी, चिकित्सक, स्वास्थ्य स्वयंसेविका तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको सहभागिता थियो।
प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, स्वास्थ्य विज्ञ, पत्रकारलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए भने स्वास्थ्य शाखाका अग्नि चौलागाईंले कार्यक्रम सञ्चालन गरेका थिए।
समग्रमा, दमकको स्वास्थ्य क्षेत्रमा खोप, अस्पतालको सेवा क्षमता, प्रविधि र नागरिकको पहुँचमा सुधारका संकेत देखिए पनि ती उपलब्धिसँगै मानसिक स्वास्थ्य, डेंगी तथा नसर्ने रोगको बढ्दो भार नयाँ चुनौतीका रूपमा देखिएको छ। आगामी वर्ष नगरपालिकाले रोकथाम, प्रारम्भिक पहिचान र घरदैलो सेवामार्फत यी चुनौती सम्बोधन गर्न सक्ने वा नसक्ने विषयले दमकको स्वास्थ्य नीतिको प्रभावकारिता निर्धारण गर्ने देखिन्छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो