दमक । राजयोगिनी दादी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसर पारेर दमकमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रभाग दमकको आयोजनामा आगामी भदौ ८ गते सोमबार बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।समाजसेवा प्रभाग दमक ब्रम्हाकुमारीज राजयोग सेवा केन्द्र दमकको आयोजनामा हुने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सहयोग रहने जनाइएको छ । कार्यक्रम दमक–५ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा आयोजना हुनेछ ।ब्रह्माकुमारी संस्थाले भदौ ६ गतेलाई ‘विश्व बन्धुत्व दिवस’का रूपमा मनाउँदै आएको जनाएको छ । सोही सन्दर्भमा राजयोगिनी दादी प्रकाशमणिको पुण्यस्मृतिमा रक्तदान महाअभियानलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ । दमकमा भने गत वर्षदेखि दादी प्रकाशमणिको पुण्यतिथिको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।आयोजकका अनुसार रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवामध्ये एक हो । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण बिरामीलाई तत्काल रगत आवश्यक पर्ने अवस्थामा समयमै रगत उपलब्ध हुन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था रहन्छ । यस्तो अवस्थामा रक्तदाताले दिएको रगतले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पु¥याउने भएकाले रक्तदान कार्यक्रमलाई मानवीय सेवाका रूपमा अघि बढाइएको हो ।ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले ज्ञान, योग, ध्यान र समाजसेवाका गतिविधिसँगै रक्तदानलाई समेत सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउँदै आएको जनाएको छ । आयोजकले स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा अन्यलाई समेत रक्तदानका लागि प्रेरित गर्न आग्रह गरेको छ ।‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा बढीभन्दा बढी रक्तदाता सहभागी गराउने लक्ष्य राखिएको छ । आयोजकले रक्तदानसँगै आपसी बन्धुत्व, सहयोग र मानवीय सेवाको भावना विस्तार गर्न कार्यक्रमले योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।
३ भदौ २०८३, बुधबार १०:५४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो