जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा तथा जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सोमबार ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य, संगीत र नेपाल भाषा प्रवर्धनमा पुर्‍याएको दीर्घ योगदानको स्मरण गर्दै अन्तिम बिदाइ गरिएको हो।

गृहमन्त्री सुधन गुरुङको पहलमा श्रेष्ठलाई राष्ट्रिय सम्मान दिने निर्णय गरिएको थियो। उनको अन्त्येष्टिमा गृहमन्त्री गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, गायिका आनी छोइङ डोल्मालगायत साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

श्रेष्ठको जन्म सन् १९३५ जुलाईमा काठमाडौँको न्हैकन्तला टोलमा मध्यमवर्गीय नेवार परिवारमा भएको थियो। पद्मोदय माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले किशोर अवस्थादेखि नै साहित्य सिर्जनामा रुचि देखाएका थिए। उनले सन् १९४९ देखि लेखन सुरु गरेका थिए।

उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो। त्यसपछि उनले कविता, गीत, बालसाहित्य र नाटकका क्षेत्रमा निरन्तर सिर्जना गर्दै नेपाली साहित्यलाई समृद्ध बनाउन योगदान पुर्‍याए। नेपाल भाषाको संरक्षण, विकास र प्रवर्धनमा पनि उनको महत्वपूर्ण भूमिका रह्यो।

करिब सात दशक लामो साहित्यिक यात्रामा श्रेष्ठले नेपाली र नेपाल दुवै भाषामा उल्लेखनीय सिर्जना गरेका थिए। उनका गीत तथा कविताले नेपाली समाज र जनजीवनका विविध पक्षलाई अभिव्यक्त गरेका छन्।

नेपाली वाङ्मयमा पुर्‍याएको योगदानको कदर गर्दै मदन पुरस्कार गुठीले उनलाई ‘जगदम्बा–श्री’ सम्मान प्रदान गरेको थियो। नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गरी नेपाली वाङ्मय समृद्ध बनाएको योगदानका लागि उनलाई उक्त सम्मान दिइएको थियो।

सात दशकभन्दा लामो साहित्यिक यात्रापछि भएको श्रेष्ठको निधनसँगै नेपाली तथा नेपाल भाषाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण स्रष्टाको अवसान भएको छ। उनको सिर्जना र भाषा–साहित्यप्रतिको योगदान नेपाली वाङ्मयमा दीर्घकालसम्म स्मरणीय रहनेछ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया