कोशी प्रदेशका मुख्यमन्त्री कार्की विश्वासको मत पाउनबाट चुके, विपक्षमा ४३ मत प्राप्त

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रदेशसभाबाट विश्वासको मत पाउनबाट चुकेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेपछि भएको मत विभाजनमा उनको पक्षमा ४६ मत खस्यो । विश्वासको मतका लागि कम्तिमा ४७ मत आवस्यक थियो । उनलाई १ मत कम भएको छ । विपक्षमा ४३ जना सांसदले मत हाले । ८९ जना प्रदेश सांसदले मतदानमा भाग लिएका थिए ।

यससँगै मुख्यमन्त्री कार्की पदमुक्त भएका छन् । तर, नयाँ मुख्यमन्त्री निर्वाचित नभएसम्म कार्कीले कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । नयाँ मुख्यमन्त्री निर्वाचित गर्न पनि सहज छैन ।

किनकि विपक्षी दललाई पनि आफ्नो पक्षमा बहुमत पुर्याउन कठिन छ । विपक्षी दलमा पनि ४६ सांसद नै छन् । विपक्षले बहुमत जुटाउन नसके मध्यावधि चुनाव हुने सम्भावना छ ।

मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ जनाको समर्थन देखिएको छ ।

विपक्षीतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक गरी ४६ सांसद छन् । तर सभामुखले मतदान नगर्ने भएकाले नयाँ सरकार बनाउन विपक्षमा पनि एक सांसद नै कम हुने देखिएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया