देवीझोडा सडक जीर्ण बन्दा स्थानीय सास्तीमा, सांसद न्यौपानेले गराए ध्यानाकर्षण, सार्वजनिक सुनुवाइमार्फत गुनासा उठाउने तयारी

खगेन्द्र कार्की


केराबारी/  उत्तरी मोरङको केराबारी गाउँपालिका–अन्तर्गत पर्ने देवीझोडा सडकखण्ड निर्माणका लागि करिब चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको करिब एक वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसक्दा स्थानीयवासीले दैनिक सास्ती खेप्न बाध्य भएका छन्। वर्षायामसँगै सडक झन् हिलाम्मे र जोखिमपूर्ण बनेपछि स्थानीयले उक्त सडकलाई 'एम्बुस' सरह भएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयका अनुसार निर्माण सामग्री तथा डिजेलको मूल्यवृद्धिका कारण विनियोजित बजेटले निर्माण सम्पन्न गर्न नसक्ने अवस्था सिर्जना भएपछि सडक निर्माण कार्य लामो समयदेखि अलपत्र परेको हो। सडकको दयनीय अवस्थाका कारण विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणलाई दैनिक आवतजावत गर्न निकै कठिन भइरहेको छ। समयमै निर्माण सम्पन्न नभए दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयको भनाइ छ।

सडकको अवस्थाप्रति स्थानीयवासीले मोरङ क्षेत्र नम्बर १ का सांसद यज्ञमणि न्यौपानेको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आवश्यक बजेटको व्यवस्था गरी निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए। त्यसको जवाफमा सांसद न्यौपानेले सडक विभाग, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सडक मर्मत तथा निर्माण कार्य अघि बढाउन तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सांसदको आश्वासनपछि स्थानीयले समस्या समाधान हुने अपेक्षा गरेका छन्।

यसैबीच, केराबारी गाउँपालिकाले नागरिकका गुनासा, सुझाव र जिज्ञासा सुन्न आगामी असार २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाका अनुसार तोपथुम्की सभाहलमा दिउँसो १ बजे हुने कार्यक्रममा गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाले गरेका कामकारबाहीबारे समीक्षा गरिनेछ। गाउँपालिकाले नागरिक, राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था तथा अन्य सरोकारवालालाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

उता, मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि गाउँपालिका अध्यक्ष तथा गाउँ विपद् व्यवस्थापन समिति संयोजक सुमन मिरिङचिङको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनका हालसम्मका कामको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गरेको छ। बैठकमा नदीजन्य जोखिम, खानेपानी तथा सिँचाइका मुहानको संरक्षण र सम्भावित क्षति न्यूनीकरणका उपायबारे समेत छलफल भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, वडा अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीको सहभागिता रहेको थियो।

देवीझोडा सडक निर्माणमा भएको ढिलाइ, सार्वजनिक सुनुवाइमार्फत उठ्ने नागरिकका गुनासा र मनसुनजन्य विपद् व्यवस्थापनका तयारी अहिले केराबारी गाउँपालिकाका प्रमुख चासोका विषय बनेका छन्।

मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केराबारी गाउँपालिकाले तयारी तीव्र बनाएको छ। गाउँपालिका अध्यक्ष तथा गाउँ विपद् व्यवस्थापन समिति संयोजक सुमन मिरिङचिङको अध्यक्षतामा असार १८ गते बसेको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका उपायबारे विस्तृत छलफल गरेको हो।
बैठकमा हालसम्म गरिएका विपद् व्यवस्थापनका कामको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिएको थियो। साथै गाउँपालिकाभित्र रहेका नदीहरूमा वर्षायामका बेला आउन सक्ने बाढी तथा कटान, खानेपानी र सिँचाइका मुहानमा हुन सक्ने क्षति न्यूनीकरणका विषयमा समेत छलफल गरिएको जनाइएको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, वडा अध्यक्षहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाइ, पूर्वाधार विकास र विपद् व्यवस्थापनलाई समान प्राथमिकतामा राखेर अघि बढिरहेको केराबारी गाउँपालिकाले नागरिकका गुनासा समाधान गर्दै विकास निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया