काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर मधेशमा आक्रोश बढिरहेका बेला मधेश जागरण अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको छ। अभियानले गृहमन्त्री स्वयं घटनास्थलमा पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्नुपर्ने र दोषीलाई कडा कारबाहीको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ।जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गरे पनि तीन दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेन। भदौ २ गते साँझ घरनजिकै भक्तिनगरस्थित लामो समयदेखि खाली रहेको एउटा घरमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।बालिकाको शव फेला परेपछि प्रहरीले घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो। प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा लगेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि यौन हिंसा गरी हत्या भएको खुलेको प्रहरीले बताएको छ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा–२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र म्याजिक चालक तथा सञ्चालक २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी उनीहरूविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सहचालकले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई लगेको र त्यसपछि घटना भएको खुलेको छ। यद्यपि घटनाको सम्पूर्ण तथ्य, अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा अपराधको विस्तृत विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।घटनापछि स्थानीयस्तरमा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको छ। बालिका हराएपछि खोजीमा भएको भनिएको ढिलाइबारे छानबिन गर्नुपर्ने माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्नुका साथै सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। विरोध प्रदर्शन सिमरा क्षेत्रमा मात्र सीमित नभई काठमाडौंलगायतका स्थानमा समेत फैलिएको छ।यसैबीच घटनामा प्रहरीको लापरबाही भएको भन्दै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको समाचारसमेत सार्वजनिक भएको छ।घटनाले राजनीतिक तथा सामाजिक तहमा समेत गम्भीर चासो उत्पन्न गरेको छ। नेपाल आदिवासी जनजाति महासंघले पनि घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट उन्मुक्ति नदिन सरकारसँग माग गरेको छ।यही पृष्ठभूमिमा मधेश जागरण अभियानले गृहमन्त्री गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको हो। अभियानका संयोजक कृष्ण मोहन सहनीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री घटनास्थलमै पुगेर पीडित परिवारसँग भेट गर्नुपर्ने माग गरिएको छ।अभियानले गृहमन्त्रीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्नुका साथै घटनाको सत्यतथ्य छानबिन, दोषीको पहिचान तथा कडा कानुनी कारबाही र परिवारलाई न्यायको प्रत्याभूति दिलाउनुपर्ने जनाएको छ।अभियानका अनुसार २४ घण्टाभित्र गृहमन्त्री घटनास्थलमा उपस्थित नभए त्यसलाई सरकारको गैरजिम्मेवारी र पीडितप्रतिको असंवेदनशीलताका रूपमा लिइनेछ। त्यसपछि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि अभियानले दिएको छ।“न्यायमा ढिलाइ गर्नु अन्याय हो। न्याय नदिएसम्म मधेश जागरण अभियान चुप लागेर बस्ने छैन,” अभियानको विज्ञप्तिमा भनिएको छ।यसैबीच गरिमाको न्याय माग्दै परिवार, आफन्त र स्थानीयले आन्दोलन जारी राखेका छन्। पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धानसँगै दोषीमाथि कडा कारबाही र बालबालिकाको सुरक्षासम्बन्धी राज्यको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन्। पछिल्लो समय विरोधका कारण वीरगञ्ज–पथलैया सडकखण्डसमेत प्रभावित भएको छ।गरिमा हत्या प्रकरण अब केवल एउटा परिवारको न्यायको विषयमा सीमित नरही बालबालिकाको सुरक्षा, प्रहरीको अनुसन्धान प्रणाली र राज्यको जवाफदेहितासँग जोडिएको मुद्दाका रूपमा अघि बढेको छ। त्यसैले अनुसन्धानलाई निष्पक्ष, प्रमाणमा आधारित र प्रभावकारी बनाउँदै पीडित परिवारलाई न्यायको अनुभूति गराउनु सरकार र सुरक्षा निकायका लागि तत्कालको प्रमुख चुनौती बनेको छ।
६ भदौ २०८३, शनिवार ०९:१४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो