एजेन्सी / भारतीय स्वतन्त्रता आन्दोलनका नायक महात्मा गान्धीद्वारा लेखिएका ६८८ वटा हस्तलिखित नोटको सङ्ग्रह मुम्बईमा १ करोड ७० लाख अमेरिकी डलरमा बिक्री भएको छ। भारतीय ऐतिहासिक दस्तावेजका लागि लिलामीमा तिरिएको यो हालसम्मकै उच्च मूल्य भएको लिलामी कम्पनी साफ्रोनआर्टले जनाएको छ।
साफ्रोनआर्टका अनुसार गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिङ्गोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त सङ्ग्रह लिलामीमा राखिएको थियो। हिङ्गोरानीकी पत्नी विद्याको निधनपछि गान्धीले उनलाई सान्त्वना दिन ती नोटहरू लेखेका थिए।
सन् १९४४ देखि १९४६ सम्म गान्धीले लेखेका ती हस्तलिखित सन्देशमा सत्य, ईश्वर, अहिंसा र जीवनसँग सम्बन्धित विभिन्न विषय समेटिएका छन्। ती सामग्री पछि ‘अ थट फर द डे’ नामक पुस्तकमा सङ्कलन गरिएको थियो।
“अ थट फर द डे’ १ करोड ७० लाख डलरमा बिक्री भएको छ। यो भारतीय ऐतिहासिक दस्तावेजका लागि लिलामीमा तिरिएको अहिलेसम्मकै विश्व रेकर्ड हो,” साफ्रोनआर्टले बिहीबार जारी गरेको वक्तव्यमा भनेको छ।
‘गान्धी : आनन्द टी. हिङ्गोरानीको सङ्ग्रह’ नाम दिइएको लिलामीमा हस्तलिखित नोटहरू मुख्य आकर्षण थिए। सङ्ग्रहमा गान्धीले प्रयोग गर्ने पोर्टेबल चर्खा तथा चर्खा कात्ने तरिकासम्बन्धी उनका नोटहरू पनि समावेश थिए।
साफ्रोनआर्टका सह–संस्थापक दिनेश वाजिरानीले सङ्ग्रहले भारतीय इतिहासका महत्वपूर्ण व्यक्तित्व गान्धीलाई उनको व्यक्तिगत सम्बन्धको कोणबाट बुझ्ने अवसर दिएको बताएका छन्।
कम्पनीका अनुसार लिलामीले गान्धीको जीवन र विरासतप्रतिको विश्वव्यापी चासो तथा भारतीय स्वतन्त्रता आन्दोलनका महत्वपूर्ण प्राथमिक स्रोत सामग्रीप्रतिको आकर्षणलाई समेत देखाएको छ।
बेलायती शासनविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी भारतका सबैभन्दा प्रभावशाली ऐतिहासिक व्यक्तित्वमध्ये एक मानिन्छन्। उनको अहिंसात्मक आन्दोलनले भारतबाहिर पनि नागरिक अधिकार तथा प्रतिरोधका विभिन्न अभियानलाई प्रभाव पारेको थियो।
गान्धीको सन् १९४८ जनवरीमा हत्या भएको थियो। उनको जीवन, विचार र स्वतन्त्रता आन्दोलनसँग सम्बन्धित हस्तलिखित सामग्री तथा व्यक्तिगत वस्तुहरू अहिले पनि ऐतिहासिक तथा संग्रहणीय महत्वका सामग्रीका रूपमा विश्वभर रुचिको विषय बन्दै आएका छन्।
६ भदौ २०८३, शनिवार ०९:१२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो