इटहरी । १९औं राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा सुनसरीमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएका छन्।
यस अवसरमा माईती नेपाल सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा यात्रु, कर्मचारी तथा सार्वजनिक यातायातका चालकलाई ब्रुसर र पम्प्लेट वितरण गरिएको छ। वितरण कार्यक्रमको सुरुवात इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टरको हातबाट गरिएको हो। त्यसपछि इटहरीका विभिन्न चाेक र सार्वजनिक स्थलहरूमा प्रचार सामग्री वितरण गरिएको थियो।
यसअघि जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठक बसेको थियो। बैठकले “तिनै तहकाे सरकार, मिलि गरौँ हातेमालाे,मानव बेचबिबिरुद्धकाे हटायाै दुसचक्रकाे जालाे भन्ने मूल नारासहित सचेतनामूलक अभियान चलाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सचेतनामूलक गतिविधिहरू इटहरीलगायत जिल्लाभर सञ्चालन गरिएका हुन्।
बैठकमा जिल्ला समन्वय समिति, प्रहरी, महिला तथा बालबालिका कार्यालय, गैरसरकारी संस्था, ब्लु डायमण्ड सोसाइटी, महिलाको निम्ति महिला मञ्चलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रम संयोजक सुनीता कार्कीका अनुसार मानव बेचबिखन रोकथामका लागि स्थानीय तहमा प्रहरी कार्यालयसँग समन्वय गरी सचेतनामूलक अभियानलाई निरन्तरता दिने निर्णय गरिएको छ। उनका अनुसार विद्यालय, सामुदायिक स्थल र सार्वजनिक यातायातमार्फत जनस्तरमा सजगता बढाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो