
धरान । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल पुलिस स्कुल धरानको निरीक्षण गर्दै विद्यार्थीको सुरक्षा, अनुशासन र गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले विद्यालयलाई सुरक्षित, स्वच्छ, प्रविधिमैत्री र अनुशासित शैक्षिक संस्थाका रूपमा विकास गर्न कार्यरत प्रहरी कर्मचारी तथा शिक्षकलाई आवश्यक निर्देशन दिएका हुन्।
बिहीबार विद्यालयको निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक खनालले कार्यालय भवन, क्यान्टिन, पुस्तकालय, छात्रावास तथा प्रशिक्षण कक्षहरूको अवलोकन गरेका थिए। त्यसक्रममा उनले विद्यार्थीको रेखदेख र सुरक्षालाई पहिलो प्राथमिकता दिन, अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन, छात्रावास र मेस व्यवस्थापन सुधार गर्न तथा अभिभावकसँग निरन्तर समन्वय गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण तयार गर्न निर्देशन दिए।
विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूसँगको छलफलमा उनले शिक्षा प्रणालीलाई समयानुकूल, परिष्कृत र प्रयोगात्मक बनाउनुपर्नेमा जोड दिए। अभिभावकको अपेक्षा र राष्ट्रको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेपाल पुलिस स्कुललाई अनुकरणीय र सफल शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षले सामूहिक रूपमा प्रयास गर्नुपर्ने उनले बताए।
विद्यार्थीसँगको अन्तरक्रियामा प्रहरी नायव महानिरीक्षक खनालले अनुशासित विद्यार्थी नै भविष्यका सफल नागरिक र राष्ट्रको गौरव बन्ने उल्लेख गर्दै अध्ययनलाई गुणस्तरीय बनाउन, सकारात्मक सोचको विकास गर्न र सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरे।
उनले कोशी प्रदेश प्रहरी कार्यालय नेपाल पुलिस स्कुल धरानलाई देशकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न आफू सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।
यसैगरी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २१ गते आसरा सुधार केन्द्र, पानबारी धरानको निरीक्षण तथा अनुगमन गर्नुको साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिए । निर्देशनको क्रममा उनले मानवीय, मर्यादित, सम्मानजनक र सहानुभूतिपूर्ण व्यवहारले उपचार पद्दतिलाई सहज बनाई समाजमा पुनःस्थापनाको बातावरण श्रृजना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा सुधार केन्द्रमा रहेका सुधारार्थीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती राख्न बिभिन्न खेलकुदका क्रृयाकलापहरुमा सहभागी गराउनका साथै व्यावसायिक तथा सीपमूलक तालिमहरूको व्यवस्था मिलाउन निर्देशन दिए ।