सरकारले यही फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले बिहीबार सूचनामार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
००००
केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।
००००
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार उनी बिहीबार राति रिहा भएका हुन् ।
बिहीबार नै अदालते बास्तोलालाई हिरासतमा रिहा गर्न आदेश दिएको थियो ।
००००
धनुषाको औरही गाउँपालिका–६ स्थित खेतमा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक हंसपुर नगरपालिका–९ रुदौलीका २० वर्षीय सुमित मण्डल रहेको प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए । उनका अनुसार बिहीबार अपराह्न करिब ४ बजेतिर घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएको थियो ।
००००
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताए ।
बाँकेको जानकी गाउँपालिका–३ मा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताएका हुन् । बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे । सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो ।
००००
नेपाली कांग्रेसको तर्फबाट काठमाडौं उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौं उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बिहीबार तीनवटै जिल्लाका उम्मेदवारको ‘भर्चुअल’ सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
००००
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह–सचिव) लोकबहादुर सुनारसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
००००
२३ जना सहसचिवको सरुवा भएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार एकनारायण शर्मालाई राष्ट्रपति कार्यालय, झनककुमार खत्रीलाई राष्ट्रिय दलित आयोग र हिरालाल चौधरीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।
००००
निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यका दुई जना उम्मेदवारलाई जनही २५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट जाजरकोटमा उम्मेदवार रहेका शक्तिबहादुर बस्नेत र नेपाल जनसेवा पार्टीको तर्फबाट रुपन्देही( २ का उम्मेदवार डा कमल (निकोलस) भुसाललाई २५–२५ हजार रूपैयाँ जरिवाना गर्ने आयोगले निर्णय गरेको हो ।
००००
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताएका छन् ।
रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे ।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा ५ मा कसैसँग सहकार्य नहुने बताएका छन् ।
झापा ५ का उम्मेदवार रञ्जित तामाङलाई बिहीबार मध्यान्ह टेलिफोनमार्फत उनले झापा ५ कसैलाई नछाड्ने बताएका नेकपा युवा नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
००००
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन् ।
फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गर्दै उनले राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका हुन् ।
भ्रम फैलाएको आरोपमा पटक पटक पक्राउ पर्दै आएका उनी पछिल्लो रिहा पनि मौन बसेका छैनन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो