इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई समूह स्पष्ट रूपमा अलग भएका छन्। गगनकुमार थापा नेतृत्वको संस्थापन र शेरबहादुर देउवा पक्षबीच छुट्टाछुट्टै महाधिवेशनको तयारी भइरहँदा दुवै समूहमा नेताहरूको कित्ताकाटसमेत स्पष्ट हुँदै गएको छ।
गत पुसमा भएको विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजनको असर तल्लो तहसम्म पुगेको हो। गगन थापालाई सभापति मान्ने कि नमान्ने भन्ने विवादका कारण पार्टीभित्र दुई धार बनेका थिए। त्यसको प्रभाव गएको २१ फागुनको निर्वाचनमा समेत देखिएको थियो।
विशेष महाधिवेशनको पक्षमा नरहेका कतिपय नेता पनि पछिल्लो समय गगन थापा नेतृत्वको संस्थापन पक्षमा खुलेका छन्। लामो समय देउवा समूहमा रहेका र पटक–पटक अवसर पाएका नेताहरू पनि संस्थापनतिर लागेका छन्।
देउवा समूहमा रहेका पूर्णबहादुर खड्का संस्थापनतिर लागिसकेका छन्। त्यस्तै किशोरसिंह राठोर, मीन विश्वकर्मा, बालकृष्ण खाण, डिना उपाध्याय र डिला संग्रौलालगायत नेताहरू पनि संस्थापन पक्षमा जोडिएका छन्।
यता, देउवा पक्षमा भने केही प्रभावशाली नेता अझै कायम छन्। असन्तुष्ट समूहले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी राजनीतिक गतिविधि अघि बढाइरहेको छ। कांग्रेस निकट स्रोतका अनुसार उक्त समूहमा देउवासँगै आरजु राणा देउवा, शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह छन्।
त्यस्तै उमाकान्त चौधरी, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेत र शंकर भण्डारी पनि देउवा पक्षमै छन्। गुरू बराल, दीपक खड्का, कुन्दन काफ्ले र जितजंग बस्नेत पनि यही समूहमा रहेको स्रोतको दाबी छ।
शिव हुमागाईं, सीता देवकोटा, विद्या तिमलसिना, सुजता परियार, किरण शर्मा पौडेल, लक्ष्मी खतिवडा, डा। रणबहादुर रावल, रंगमती शाही, नृप वड र पध्मनारायण चौधरी पनि असन्तुष्ट समूहमा छन्।
कांग्रेसभित्र दुई समूहले छुट्टाछुट्टै महाधिवेशनको तयारी गरेसँगै पार्टीको १५औँ महाधिवेशन दुईवटा हुने अवस्था बनेको छ। गगन थापा नेतृत्वको संस्थापन पक्षले आफ्नो महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ भने देउवा पक्षले पनि छुट्टै कार्यतालिकाअनुसार अधिवेशनको तयारी गरिरहेको छ।
गगन थापा नेतृत्वको संस्थापन पक्षमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा र फरमुल्ला मन्सुरलगायत नेताहरू छन्। गत पुसको अन्तिममा भएको विशेष महाधिवेशनबाट यो समूहले नेतृत्व स्थापित गरेको हो। उक्त नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत मान्यता दिएको संस्थापन पक्षको दाबी छ।
संस्थापन पक्षले ३ असोजबाट वडास्तरीय अधिवेशन सुरु गरेको छ। १४ असोजसम्म प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका अधिवेशन सम्पन्न गर्ने उसको तयारी छ। १६ देखि १९ असोजसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका संस्थापन पक्षले सार्वजनिक गरेको छ।
उता, देउवा पक्षको असन्तुष्ट समूहले पनि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। पूर्वमहामन्त्री तथा बीपी कोइरालाका पुत्र शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ।
समूहका नेता किरण शर्मा पौडेलका अनुसार महाधिवेशनका लागि आवश्यक तयारी पूरा भइसकेको छ। असन्तुष्ट समूहले १५ असोजमा देशभर वडा अधिवेशन गर्ने तयारी गरेको छ। त्यसपछि २० असोजमा पालिका, २३ असोजमा प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ।
उक्त समूहले १५ कात्तिकमा जिल्ला, ४ मंसिरमा प्रदेश र २१ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ
१२ असोज २०८३, सोमबार १०:१५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो