सह पाइलटको आक्रमणबाट घाइते क्याप्टेनले फ्लाई दुबईका १७४ यात्रु बचाए, विश्भरि प्रशंसा

खगेन्द्र कार्की

इटहरी । सहपाइलटको आक्रमणबाट गम्भीर घाइते भएर पनि ककपिटको ढोका खोल्दै यात्रु र चालकदललाई हस्तक्षेप गर्ने अवसर दिएका फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको साहसको विश्वभर प्रशंसा भएको छ । घाइते अवस्थामै उनले देखाएको प्रसंगावधानका कारण सम्भावित ठूलो विमान दुर्घटना टरेको र विमानमा रहेका १७४ यात्रु सुरक्षित रहेको बताइएको छ ।

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको एफजेड १०७३ उडानमा बुधबार ककपिटभित्र सहपाइलटले क्याप्टेन मच्छरमाथि आक्रमण गरेका थिए । आक्रमणपछि विमान करिब १४ हजार फिट तल झरेको थियो । गम्भीर घाइते मच्छरले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु तथा चालकदलका सदस्यहरू भित्र प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सके । त्यसपछि विमानमा रहेका दुई अन्य पाइलटले  नियन्त्रण सम्हाल्दै साउदी अरबको .ताबुकमा आपत्कालीन अवतरण गराएका थिए ।

अबु धाबीमा उपचाररत मच्छरसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कलमार्फत कुराकानी गरेका छन् । कुराकानीका क्रममा मच्छरले आफू घाइते भएर भुइँमा लडेको अवस्थामा विमान तल झरिरहेको महसुस गरेपछि यात्रुको ज्यान बचाउन आफू उठ्नैपर्ने ठानेको बताएका थिए । उनले त्यसबेला हनुमान चालिसा पाठ गरिरहेको पनि बताएका छन् । मोदीले उनको 

साहस र तत्काल निर्णय गर्ने क्षमताको प्रशंसा गर्दै शीघ्र 

स्वास्थ्यलाभको कामना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मच्छरलाई ‘हिरो’ भन्दै प्रशंसा गरेका छन् । ट्रम्पले गम्भीर घाइते हुँदासमेत उनले देखाएको सुझबुझले विमान दुर्घटनाबाट जोगिएको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि मच्छरको साहसको प्रशंसा गरेका छन् ।

मच्छरको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र उपचारपछि सुधार भइरहेको भारतीय अधिकारीहरूले बताएका छन् । घटनाको वास्तविक कारण र सहपाइलटले आक्रमण गर्नुको उद्देश्यबारे भने सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया