महाधिवेशनपछि कांग्रेसमा अनुशासनको चेतावनी, नेता व्यवस्थापन गर्न पद थप्ने तयारी

खगेन्द्र कार्की

इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुने नेता तथा कार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने चेतावनी दिएको छ। समितिले पार्टीको मर्यादा, नीति र अनुशासनविपरीतका गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो।

अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको हितविपरीतका अवाञ्छित गतिविधिमा संलग्न भएको पाइए तत्काल आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने बताएका छन्। उनका अनुसार निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा संलग्न भएको सूचना समितिले प्राप्त गरेको छ।

पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्म कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने गतिविधिमा संलग्न नहुन समितिले सचेत गराएको छ। त्यस्ता गतिविधिलाई गम्भीरताका साथ निगरानी गरिरहेको धमलाले बताएका छन्।

वडा, पालिका तथा क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक सहभागिता जनाएकोमा समितिले पार्टीका नेता तथा कार्यकर्ताप्रति आभारसमेत व्यक्त गरेको छ।

यसैबीच, कांग्रेसमा पद सीमित र आकांक्षी धेरै भएपछि नेता व्यवस्थापनको दबाब बढेको छ। विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई १५औँ महाधिवेशनपछि समेट्नुपर्ने दबाबबीच सभापति गगन थापा नेतृत्वको समूहले एक उपसभापति र एक महामन्त्री थप्ने प्रस्ताव अघि बढाएको छ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले एक महिला उपसभापति र एक महिला महामन्त्री थप्ने प्रस्ताव तयार गरिरहेको नेताहरूले बताएका छन्। कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति तथा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति निर्वाचित भएका थिए। प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री निर्वाचित भएका थिए। विशेष महाधिवेशनमा सहभागी नभएका किशोरसिंह राठोर, धनराज गुरुङ, भीष्मराज आङदम्बेलगायत नेताहरूलाई समेट्नुपर्ने दबाब कांग्रेसभित्र छ।

उपसभापति पदमा शर्मा, भुसालसहित महालक्ष्मी उपाध्याय ‘डिना’, गुरुराज घिमिरे, भीष्मराज आङदम्बे, धनराज गुरुङ र देवराज चालिसेलगायतको नाम चर्चामा छ। महामन्त्रीमा पौडेललाई दोहोर्‍याउने तयारीसँगै उदयशमशेर राणा, जीवन परियार, राजीव ढुंगाना, मीन विश्वकर्मा, नैनसिंह महर, सुनिल शर्मा र अमरसिंह पुनलगायत नेताहरू आकांक्षी देखिएका छन्।

यसैबीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला कांग्रेसभित्र देखिएको समानान्तर महाधिवेशन प्रक्रियामा तत्काल सहभागी भएका छैनन्। कोइरालाले दुवै पक्षले आ–आफ्नो महाधिवेशन सम्पन्न गरेपछि एकताका लागि पहल गर्ने धारणा राख्दै आएका छन्।

देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ भने थापा नेतृत्वको कांग्रेसले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। समानान्तर महाधिवेशन प्रक्रियाबीच पार्टीभित्र अनुशासन, नेतृत्व समायोजन, प्रतिनिधित्व र संगठनात्मक एकताको विषय थप महत्वपूर्ण बनेको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया