कांग्रेस महाधिवेशन प्रतिनिधिमा कार्कीसहित ३३ जना निर्वाचित, केन्द्रीय सदस्य रायमाझी पराजित
खगेन्द्र कार्की
१६ असोज २०८३, शुक्रबार ०९:२७ मा प्रकाशित
923
भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भोजपुरबाट अरुण गाउँपालिका पूर्वअध्यक्ष तथा जिल्ला उपाध्यक्ष गजेन्द्रबहादुर कार्कीसहित ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी भने पराजित भएका छन्।
जिल्लाभरका १ हजार ९४४ मतदातामध्ये १ हजार ३११ मत खसेको थियो। खुला, महिला, युवा, श्रमिक, पेसागत, अपाङ्गता, अल्पसंख्यक तथा विभिन्न समावेशी समूहमा गरी झण्डै ७० जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
खुलातर्फ कैलाशकुमार आलेले सर्वाधिक ७३१ मत प्राप्त गरे। लगातार दुई पटक भोजपुर नगरपालिकाको मेयर निर्वाचित आले विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय भएका हुन्। उनी नेविसंघ भोजपुर बहुमुखी क्याम्पस इकाइ समिति सभापति हुँदै नेविसंघ र तरुण दलको जिल्ला अध्यक्ष तथा पार्टीको जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
खुलातर्फ पूर्व जिल्ला सभापतिद्वय बालकृष्ण थापाले ६०८ र नन्दमणि राईले ६०६ मत प्राप्त गरे। टेम्केमैयुङ गाउँपालिकाका सरोज बस्नेतले ५९८ तथा वर्तमान जिल्ला सभापति विनोद बान्तवा राईले ५९० मत ल्याए।
अरुण गाउँपालिका पूर्वअध्यक्ष तथा जिल्ला उपाध्यक्ष गजेन्द्रबहादुर कार्कीले ५६० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा स्थान बनाए। सफल किरात ५२९, हेमन्त मुकारुङ ५२५, बाबुराम बस्नेत ४८८ र वीरबल राई ४६५ मतसहित निर्वाचित भए।
महिला खुलातर्फ शिशिरा राई, विनिता ढकाल, अम्बिका राई र माया राई निर्वाचित भएका छन्। श्रमिकतर्फ महेश बस्नेत तथा पेसागततर्फ अर्जुन बस्नेत चयन भएका छन्। युवा खुलातर्फ अनोज कार्की र सञ्जय श्रेष्ठ निर्वाचित भए।
अपाङ्गतातर्फ बाबुराम राउत, अल्पसंख्यकतर्फ जनककुमार घले तथा प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्वपीडिततर्फ कृष्णबहादुर खड्का निर्वाचित भएका छन्।
समानुपातिकतर्फ आदिवासी जनजाति महिलामा हेन्खामा राई, कल्पना राई र सीता श्रेष्ठ तथा आदिवासी जनजाति खुलातर्फ अशोक राई, पुष्पबहादुर तामाङ, आङबाउ शेर्पा र तेन्जी शेर्पा निर्वाचित भएका छन्। खस आर्य महिलातर्फ निर्मला खड्का तथा खुलातर्फ गणेश बुढाथोकी चयन भएका छन्।
यसैबीच, १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित तथा पार्टीको खेलकुद विभाग प्रमुखसमेत रहेका उमेशजङ्ग रायमाझी खुलातर्फ ४१६ मतमै रोकिए। नेविसंघको राजनीतिबाट उदाएका रायमाझीले २०७४ सालको संघीय निर्वाचनमा भोजपुरबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका थिए। पछिल्लो समय उनी पार्टीको संस्थापन पक्षसँग नजिकिएका थिए।