चाडपर्वमा यात्रु ठगी रोक्न कोशीका ४८ स्थानमा सहायता कक्ष

खगेन्द्र कार्की

विराटनगर । दसैं, तिहार र छठ पर्व नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढ्न थालेपछि कोशी प्रदेश प्रहरीले सार्वजनिक यातायातमा हुने बढी भाडा असुली, टिकटमा ठगी, यात्रुमाथिको दुर्व्यवहार र अन्य अव्यवस्था नियन्त्रण गर्न निगरानी बढाएको छ।
यात्राका क्रममा समस्या परेपछि प्रहरी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेशका १४ वटै जिल्लाका ४८ स्थानमा शुक्रबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। मोरङमा मात्रै १० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षमा प्रहरीसँगै यातायात क्षेत्रका प्रतिनिधिसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
विराटनगर बसपार्कमा सहायता कक्ष उद्घाटन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले चाडपर्वका बेला यात्रालाई सुरक्षित र मर्यादित बनाउन सडकदेखि बसपार्कसम्म प्रहरीको उपस्थिति प्रभावकारी बनाइने बताए।
उनले यात्राका क्रममा बढी भाडा लिने, टिकटमा ठगी गर्ने, दुर्व्यवहार गर्ने वा अन्य समस्या भए सहायता कक्षमै गुनासो गर्न यात्रुलाई आग्रह गरे। उनका अनुसार सहायता कक्षबाटै यात्रुको गुनासो सुन्ने र सम्भव भएसम्म तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ।
प्रहरीले चाडपर्वमा सार्वजनिक यातायातसँगै जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधिमाथि पनि निगरानी बढाएको छ। बाढीपहिरोका कारण कतिपय सडक प्रभावित भइरहेका बेला सुरक्षित यात्रा, ट्राफिक नियमको पालना र सहज आवागमनका लागि यातायात व्यवसायी, मजदुर र प्रहरीबीच समन्वय आवश्यक रहेको डीआईजी खनालले बताए।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बढी भाडा असुली, यात्रुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने र क्षमताभन्दा बढी यात्रु राख्नेजस्ता गतिविधिमाथि निगरानी बढाइएको बताए। एउटै सिटमा एकभन्दा बढी टिकट काट्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्‍याउने, बीच बाटोमै अलपत्र पार्ने तथा अमर्यादित व्यवहार गर्नेमाथि कारबाही गरिने उनले बताए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार कोशीका १४ जिल्लाका ४८ स्थानमा सहायता कक्ष सञ्चालनमा छन्। भारतसँग जोडिएका पशुपतिनगर, काँकडभिट्टा, विराटनगरको रानी र सुनसरीको कोशी कटानमा समेत छुट्टै सहायता कक्ष राखिएको छ। ती कक्षले भारतबाट आउने यात्रुलाई समेत सहजीकरण गर्ने उनले बताए।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले यात्रुको चाप व्यवस्थापनसँगै सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्न सहायता कक्षलाई प्रभावकारी बनाइने बताए। यात्राका क्रममा समस्या आए सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन उनले आग्रह गरे।
यातायात व्यवसायीहरूले पनि चाडपर्वमा यात्रुमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्। यात्रुको सुरक्षा र सुविधा सुनिश्चित गर्नु प्रहरी, व्यवसायी, मजदुर र यात्रु सबैको साझा जिम्मेवारी भएको उनीहरूको भनाइ छ।

खगेन्द्र कार्की
प्रतिक्रिया