विराटनगर । आज विश्व पर्यटन दिवस। हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइने यो दिवस पर्यटनको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय महत्वबारे विश्वव्यापी बहस गर्ने अवसरका रूपमा लिइन्छ। संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी निकाय यूएन टुरिज्मले दिवसलाई पर्यटनका माध्यमबाट रोजगारी, स्थानीय अर्थतन्त्र, सांस्कृतिक आदानप्रदान र दिगो विकासलाई अघि बढाउने अवसरका रूपमा प्रस्तुत गर्दै आएको छ।नेपालका लागि भने विश्व पर्यटन दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिनभन्दा पनि सात दशक लामो पर्यटन यात्राको समीक्षा र आगामी बाटो तय गर्ने अवसर हो। सन् १९५५ मा नेपालमा विदेशी पर्यटकको औपचारिक आगमन सुरु भएयता नेपालको पर्यटन उद्योगले ठूलो यात्रा तय गरेको छ। तर हिमाल, पहाड, संस्कृति, जैविक विविधता र साहसिक पर्यटनको असाधारण सम्भावना भएको नेपालले त्यसअनुसारको पर्यटन पूर्वाधार, सेवा, पहुँच र विश्वव्यापी ब्रान्डिङ अझै निर्माण गर्न बाँकी छ।त्यसैले अब पर्यटनका सानातिना र छरिएका योजनाभन्दा केही ठूला, दीर्घकालीन र परिणाममुखी काममा केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ।युरोपको हवाई प्रतिबन्ध हटाउन कूटनीतिक पहलनेपाली वायुसेवा युरोपेली संघको हवाई सुरक्षा सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय हवाई पहुँचका लागि महत्वपूर्ण चुनौती हो। सुरक्षा मापदण्ड सुधारसँगै नेपालले ईयूका सम्बन्धित निकायसँग निरन्तर संवाद र कूटनीतिक पहल तीव्र बनाउन आवश्यक छ। युरोपसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार हुन सके पर्यटनसँगै व्यापार र लगानीमा पनि सकारात्मक प्रभाव पर्न सक्छ।विश्वस्तरीय गन्तव्यका लागि ‘पर्यटकीय मार्सल प्लान’नेपालका प्रमुख पर्यटन गन्तव्यलाई टुक्राटुक्रा बजेटबाट होइन, ठूलो र एकीकृत योजनाबाट विकास गर्नुपर्ने देखिन्छ। सगरमाथा तथा अन्य हिमाली आधार शिविर, लुम्बिनी, पशुपतिनाथ, पोखरा, मुस्ताङजस्ता गन्तव्यमा पूर्वाधार, सरसफाइ, शौचालय, पहुँच, सूचना र मौलिकता संरक्षणलाई एउटै योजनामा समेट्न सकिन्छ। विश्वस्तरीय गन्तव्यको ‘मेकओभर’ गर्ने यस्तो ठूलो लगानीले दीर्घकालमा पर्यटकबाटै प्रतिफल दिन सक्छ।गन्तव्यको वर्गीकरण, बजेट पनि त्यहीअनुसारसबै पर्यटकीय गन्तव्यलाई एउटै दृष्टिले हेर्नुभन्दा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय महत्वका आधारमा वर्गीकरण गर्न आवश्यक छ। विश्वस्तरीय पर्यटक आकर्षित गर्ने गन्तव्यमा आवश्यक पूर्वाधार र बजेट प्राथमिकताका साथ केन्द्रित गर्न सके सीमित स्रोतको प्रभावकारी उपयोग हुन सक्छ। यसले पहुँच र राजनीतिक प्रभावका आधारमा बजेट छर्ने प्रवृत्ति घटाउन पनि सहयोग गर्न सक्छ।सीमित गन्तव्यलाई ‘फाइभ स्टार’ अवधारणामा विकासनेपालले केही चुनिएका गन्तव्यमा उच्चस्तरीय पर्यटनको अवधारणा लागू गर्न सक्छ। पोखरा, मुस्ताङ, सगरमाथा वा अन्नपूर्ण क्षेत्रजस्ता गन्तव्यमा प्रवेश तथा संरक्षण शुल्कबाट प्राप्त रकम त्यही गन्तव्यको सरसफाइ, वातावरण संरक्षण, सेवा र सौन्दर्यकरणमा लगानी गर्ने मोडल बनाउन सकिन्छ। भुटानले पर्यटन व्यवस्थापनमा शुल्कको प्रयोग गरेको उदाहरणबाट नेपालले आफ्नो मौलिक मोडल विकास गर्न सक्छ।साहसिक पर्यटनमा विश्वस्तरीय प्रतियोगितार्याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ र क्यानोनिङजस्ता क्षेत्रमा नेपालसँग प्राकृतिक सम्भावना छ। तर सम्भावनालाई नियमित अन्तर्राष्ट्रिय कार्यक्रमसँग जोड्न सकिएको छैन। विश्व, एसिया वा दक्षिण एसियाली स्तरका क्यालेन्डर प्रतियोगिता आयोजना गर्न सके खेलाडी, पर्यटक, प्रायोजक र सञ्चारमाध्यमलाई नेपालतर्फ आकर्षित गर्न सकिन्छ।एनआरएनको दोस्रो पुस्तालाई नेपालसँग जोड्नेविदेशमा हुर्किएको नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने नयाँ पर्यटन उत्पादन आवश्यक छ। विवाह, हनिमुन, पारिवारिक भ्रमण र सांस्कृतिक अनुभवका लागि विशेष प्याकेज बनाएर विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गर्न सकिन्छ। यसले भावनात्मक सम्बन्धलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्न सक्छ।भारतबाट ‘डेस्टिनेसन वेडिङ’ आकर्षित गर्नेभारतीय विवाह पर्यटन नेपालका लागि ठूलो सम्भावना भएको क्षेत्र हो। विवाहका लागि नेपाल आउने परिवारलाई सहज हुने गरी भन्सार, मुद्रा, गरगहना, होटल र कार्यक्रम व्यवस्थापनसम्बन्धी प्रक्रियालाई स्पष्ट र लगानीमैत्री बनाउन आवश्यक छ। यसबाट होटल, यातायात, खानपान, सजावट र कार्यक्रम व्यवस्थापनमा रोजगारी तथा आय सिर्जना हुन सक्छ।त्रिभुवन विमानस्थललाई अनुभवको गन्तव्य बनाउनेपर्यटकको नेपाल अनुभव विमानबाट ओर्लिएपछि नै सुरु हुन्छ। त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुविधा, सरसफाइ, नेपाली कला–संस्कृति, स्थानीय उत्पादन र आतिथ्यताको नमुना विमानस्थल बनाउने योजना आवश्यक छ। विश्वका उत्कृष्ट विमानस्थलबाट सिकेर नेपालले आफ्नै शैलीको ‘बुटिक’ अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणा विकास गर्न सक्छ।हिमालदेखि कुकुर तिहारसम्मका अन्तर्राष्ट्रिय महोत्सवनेपालको हिमाल साहित्यको विश्वव्यापी पहिचान बनाउन वार्षिक ‘माउन्टेन लिटरेचर फेस्टिभल’ आयोजना गर्न सकिन्छ। त्यसैगरी कुकुर तिहारजस्तो विशिष्ट नेपाली सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रिय कार्यक्रमसँग जोडेर नयाँ पर्यटन ब्रान्ड बनाउन सकिन्छ। यस्ता कार्यक्रमले पर्यटकलाई मौसम विशेषमा नेपाल आउने कारण दिन सक्छन्।सीमापार पर्यटनलाई विशेष प्राथमिकताभारत, बंगलादेश र भुटानसँगको भौगोलिक निकटता नेपालको ठूलो अवसर हो। सीमा आसपासका शहरलाई लक्षित गरी संयुक्त पर्यटन मेला, धार्मिक यात्रा, साहसिक प्याकेज र सडक पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ। पूर्वी नेपाल, लुम्बिनी, सुदूरपश्चिम र हिमाली क्षेत्रलाई छिमेकी मुलुकका शहरसँग जोडेर नयाँ बजार सिर्जना गर्न सकिन्छ।पर्यटकको भाषामा गाइड र स्थानीय जनशक्तिपर्यटकको संख्या बढी हुने गन्तव्यमा सम्बन्धित देशका भाषा बोल्ने स्थानीय गाइड तयार गर्नुपर्छ। सिंहाली, थाई, जापानी, कोरियालीलगायत भाषामा आधारभूत तालिम दिने कार्यक्रमले रोजगारी सिर्जना गर्नुका साथै पर्यटकको अनुभवसमेत सुधार्न सक्छ।स्थानीय युवालाई पर्यटन सीप र फेलोसिपनदीसँग हुर्किएका स्थानीय युवालाई र्याफ्टिङ तथा उद्धार तालिम, हिमाली क्षेत्रमा स्थानीयलाई पर्वतीय सीप, युवालाई पाककला, हस्तकला, थाङ्का तथा परम्परागत कलासम्बन्धी फेलोसिप दिन सकिन्छ। पर्यटन विकासको लाभ स्थानीय समुदायसम्म पुर्याउने यस्तो जनशक्ति विकास दिगो पर्यटनको आधार बन्न सक्छ।माउन्टेन एकेडेमीलाई विश्वस्तरीय बनाउनेनेपालले हिमाल चढ्ने मात्र होइन, हिमाल पढ्ने र अनुसन्धान गर्ने केन्द्रको पहिचान पनि बनाउन सक्छ। पर्वतारोहण, उच्च हिमाली उद्धार, पर्वतीय चिकित्सा र अनुसन्धानमा अन्तर्राष्ट्रियस्तरको संस्था विकास गर्न सके नेपाल विश्वको पर्वतीय शिक्षा केन्द्र बन्ने आधार तयार हुन सक्छ।पर्यटनको पूर्ण डिजिटल रूपान्तरणआजको पर्यटक गन्तव्यमा पुग्नुअघि नै मोबाइलबाट निर्णय गर्छ। त्यसैले होटल, गाइड, यातायात, ट्रेकिङ एजेन्सी, परमिट, उद्धार सेवा र स्थानीय उत्पादनसम्मलाई एउटै डिजिटल प्रणालीमा जोड्न आवश्यक छ। विभिन्न भाषामा सूचना र तत्काल बुकिङको सुविधा दिन सके नेपाल ‘स्मार्ट डेस्टिनेसन’ बन्ने दिशामा अघि बढ्न सक्छ। यूएन टुरिज्मले पनि प्रविधि र स्मार्ट पर्यटनलाई दिगो गन्तव्य विकाससँग जोड्दै आएको छ।नेपाली ध्वजावाहकलाई विश्वका नेपालीसँग जोड्नेपर्यटनको विस्तार हवाई पहुँचसँग प्रत्यक्ष जोडिएको छ। विदेशमा ठूलो नेपाली डायस्पोरा भएका मुलुकसँग नियमित उडान विस्तार गर्न सके पर्यटन र यात्रु आवागमन दुवै बढ्न सक्छ। नेपालले विभिन्न मुलुकसँग गरेका द्विपक्षीय हवाई सेवा सम्झौताको उपयोग गर्दै राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी र सक्षम बनाउने दीर्घकालीन रणनीति आवश्यक छ।अन्ततः विश्व पर्यटन दिवसको अर्थ एउटा औपचारिक कार्यक्रम, भाषण वा नारामा सीमित हुनु हुँदैन। पर्यटनलाई अर्थतन्त्र, रोजगारी, संस्कृति, वातावरण र स्थानीय समुदायसँग जोड्ने व्यवहारिक नीति आवश्यक छ। यूएन टुरिज्मले पनि पर्यटनलाई आर्थिक वृद्धि, समावेशी विकास र वातावरणीय दिगोपनको माध्यमका रूपमा अघि सार्दै आएको छ।नेपालसँग पर्यटक आकर्षित गर्ने प्राकृतिक र सांस्कृतिक सम्पदा पर्याप्त छस अब आवश्यक कुरा ती सम्पदालाई विश्वस्तरीय अनुभवमा बदल्ने क्षमता हो। विश्व पर्यटन दिवसको अवसरमा नेपालले यही दिशामा ‘नारा’ होइन, परिणाम देखिने कामको नयाँ यात्रा सुरु गर्नुपर्ने समय आएको छ। शिलापत्रमा छापिएको विराट अनुपमको विचारका आधारमा
१२ असोज २०८३, सोमबार ११:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो