इटहरी । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह आफैँ गाडी चलाएर काठमाडौंबाट पोखरा निस्किएपछि उनको भ्रमणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी र अड्कलबाजी चले । कुनै तामझाम र सुरक्षाकर्मीको लावालस्करबिना निजी भ्रमणमा निस्किएका शाह शनिबार मुस्ताङको मुक्तिनाथ पुगेर पूजाअर्चना गरेका छन् ।
शाह शुक्रबार परिवारसहित सडकमार्ग हुँदै पोखरा पुगेका थिए । उनको अकस्मात् पोखरा भ्रमणलाई कतिपयले प्रधानमन्त्रीको सरल शैली भन्दै सकारात्मक टिप्पणी गरेका थिए भने केहीले आलोचना पनि गरेका थिए । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले समेत भ्रमणबारे नकारात्मक टिप्पणी गरेका थिए ।
पोखरा पुगेपछि शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बसेका थिए । शनिबार बिहान पोखराबाट सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका उनी दिउँसो करिब ३ बजे जोमसोम पुगेका थिए ।
जोमसोमस्थित घरपझोङ–३ को पुथाङ विमानस्थलनजिकै रहेको होटल ओम्स होममा केही समय आराम गरेपछि शाह मुक्तिनाथतर्फ लागेका थिए । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार उनी शनिबार साँझ करिब साढे ७ बजे मन्दिर प्रवेश गरेका थिए ।
शाहले करिब आधा घण्टा मन्दिरमा पूजाअर्चना गरेका थिए । उनले मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए । पूजाअर्चना सकेपछि उनी जोमसोम फर्किएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले शाहको मुस्ताङ भ्रमण निजी तथा पारिवारिक रहेको स्पष्ट गरेको छ । निजी भ्रमण भए पनि उनको आगमनसँगै जोमसोम र मुक्तिनाथ क्षेत्रमा सुरक्षा व्यवस्था भने कडा पारिएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो