इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने प्रदेशका खेलाडीलाई खेल जीवनमा निरन्तर सक्रिय राख्न मासिक भत्ता उपलब्ध गराउने तयारी थालेको छ। बोर्डको ३६औँ बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।इटहरीस्थित प्रादेशिक रंगशालामा शुक्रबार बसेको बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन र सहयोग पुग्ने गरी मासिक भत्ताको व्यवस्था गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए।सामाजिक विकासमन्त्री तथा बोर्ड अध्यक्ष गीता तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले स्वर्णसँगै अन्य पदक जित्ने खेलाडीलाई समेत कसरी निरन्तर प्रोत्साहन गर्ने भन्ने विषयमा थप अध्ययन गर्ने निर्णय गरेको छ।सदस्य सचिव घोषका अनुसार खेलाडीलाई पदक जितेपछि पनि खेलकुदमै सक्रिय रहन प्रोत्साहन गर्ने उद्देश्यले भत्तासहितका कार्यक्रमबारे अध्ययन गरिनेछ। उनले स्वर्ण पदक विजेतादेखि अन्य पदक विजेतासम्मका खेलाडीलाई निरन्तर प्रोत्साहन गर्दै खेलकुदमा सक्रिय राख्ने विषयमा बोर्डले अध्ययन गर्ने बताए।बैठकले जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा कास्य पदक जितेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई नगदसहित सम्मान गर्ने निर्णयसमेत अनुमोदन गरेको छ।बोर्डले केही दिनअघि घोषणा गरेको निर्णयअनुसार राजवंशीलाई १ लाख रुपैयाँ र प्रशिक्षक राईलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ।यसैगरी, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट गर्न इटहरीस्थित प्रादेशिक रंगशालामा सचिवालय स्थापना गरिएको छ। सचिवालयले प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट, समन्वय तथा आवश्यक तयारीसम्बन्धी काम गर्नेछ।कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोशीले खेलाडी छनोट र प्रोत्साहनका कार्यक्रमलाई अघि बढाएको हो।
१६ असोज २०८३, शुक्रबार ०८:२६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो