१४५ दिनको बर्खे अधिवेशन सकियो, १२ विधेयक पारित तर कानून निर्माणको गति सुस्त

खगेन्द्र कार्की

इटहरी ।  संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को मंगलबारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको अधिवेशन अन्त्य गरेका हुन्।

वैशाख २८ गते सुरु भएको अधिवेशन असोज १६ गतेसम्म १४५ दिन चले पनि संसद्को वास्तविक कार्यसमय र कानून निर्माणको प्रगतिबीच ठूलो अन्तर देखिएको छ। दुवै सदनबाट १२ वटा विधेयक पारित भए पनि सरकारले चालु आर्थिक वर्षमा संसद्मा पेस गर्ने भनेको १६६ विधेयकको तुलनामा हालसम्म २४ वटा मात्रै दर्ता भएका छन्।
राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक बसेका थिए। ती बैठकमा ९८ घण्टा १० मिनेट संसदीय कामकारबाही भएको अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन समापनका क्रममा जानकारी दिए। प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा भने ६२ कार्यदिनमा ६८ बैठक बसेर २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाही भएको छ।
दुवै सदनबाट पारित १२ विधेयकमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। प्रतिनिधिसभामा मात्रै ३५ सरकारी विधेयक दर्ता भएकामा २० वटा सम्बन्धित समितिमा विचाराधीन छन्।
राष्ट्रियसभाका अध्यक्ष दाहालले सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६४ वटा विधेयक पेस गर्ने प्राथमिकता तय गरे पनि २४ वटा मात्रै दर्ता भएको बताए। तीमध्ये २२ वटा प्रतिनिधिसभा र दुईवटा राष्ट्रियसभामा दर्ता भएका छन्। विधेयक कम पेस हुँदा राष्ट्रियसभाको कामकाज प्रभावित भएको उनको भनाइ छ।
अधिवेशनमा बजेट तथा आर्थिक विधेयकसँगै बाढीपहिरो, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सुशासन, सेवा प्रवाह र नागरिकका विभिन्न समस्या संसद्को प्राथमिकतामा रहे। भोटेकोशी–त्रिशूली बाढीपछि दुवै सदनले सरकारको उद्धार, राहत र पुनःस्थापनाको कामबारे ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न १५ सदस्यीय विशेष समिति गठन गरेको छ। राष्ट्रियसभाले पनि भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद्बारे अध्ययन तथा अनुगमन गर्न विशेष समिति गठन गरेको छ।
प्रतिनिधिसभामा सात मन्त्रालयसँग सम्बन्धित १३ प्रश्नोत्तर कार्यक्रम सञ्चालन भए भने राष्ट्रियसभामा १५ मन्त्रालयसँग सम्बन्धित ३५ मौखिक प्रश्नको उत्तर दिइयो।
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी, सेवा प्रवाह, सुशासन र विकास निर्माणका विषय पनि अधिवेशनमा उठे। राष्ट्रियसभाले प्रविधिबाट हुने लैङ्गिक हिंसा नियन्त्रण तथा सहायक प्रजनन प्रविधि नियमनसम्बन्धी दुई संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
यससँगै शुक्रबार राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बर्खे अधिवेशन औपचारिक रूपमा अन्त्य भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए।

खगेन्द्र कार्की
प्रतिक्रिया