प्रधानमन्त्री बालेन आज स्वदेश फर्किँदै

खगेन्द्र कार्की

इटहरी । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। महासभामा सहभागी हुन उनी मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए।

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै नेपालजस्ता कम योगदान गर्ने देशले जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताएका थिए।
महासभामा उनले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको बताएका थिए।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्दै यसको लागत कसले बेहोर्ने र निर्णय प्रक्रियामा कसको आवाज सुनिने भन्ने विषयलाई पनि महत्त्व दिनुपर्ने बताएका थिए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने उनको भनाइ थियो।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। भेटवार्तामा नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा छलफल भएको थियो।
महासभामा सम्बोधन गरेपछि प्रधानमन्त्री शाह आज स्वदेश फर्किन लागेका हुन्।

खगेन्द्र कार्की
प्रतिक्रिया