मध्यपूर्व तनाव : ८८ हजार बढी नेपालीको विवरण संकलन

खगेन्द्र कार्की

इटहरी । परराष्ट्र मन्त्री शिशिर खनाल ले मध्यपूर्वमा जारी द्वन्द्वले सिर्जना गरेको परिस्थितिबारे जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि बहुआयामिक रूपमा देखिन थालेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयले नियमित कामका साथै सरकारको १०० बुँदे कार्ययोजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पारे । साथै द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा, अवस्था र आवश्यक परे स्वदेश फिर्तीका लागि मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।

मन्त्री खनालका अनुसार हालसम्म ८८ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण मन्त्रालयमा टिपाएका छन्।  २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइनमा सुरुका दिनमा धेरै फोन आए पनि अहिले त्यो क्रम घटेको छ । अहिले आउने अधिकांश फोन युद्धजन्य असुरक्षाभन्दा पनि भिसा अवधि सकिनु, बिदा वा अन्य व्यक्तिगत समस्यासँग सम्बन्धित रहेको उनले बताए। त्यहाँ रहेका नेपालीहरूले आफूलाई अपेक्षाकृत सुरक्षित महसुस गरिरहेको प्रतिक्रिया आएको पनि उनले उल्लेख गरे ।

नेपालीहरूको सहज आवागमनका लागि नेपाल एयरलाइन्स ले दुबईमा नियमित उडान सुरु गरिसकेको छ भने साउदी अरेबियामा पनि उडान जारी छ। बहराइन र कुवेतजस्ता स्थानबाट सिधा उडान नभएकाहरूलाई साउदीसम्म ल्याएर नेपाल पठाउने व्यवस्था मिलाइएको छ। इन्धनको मूल्य वृद्धिका कारण हवाई भाडा महँगिए पनि नेपाल एयरलाइन्सले बजारभन्दा झन्डै एक तिहाइ कम दरमा सेवा दिइरहेको मन्त्रीले बताए।

यसैबीच द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाल आयल निगम गम्भीर आर्थिक संकटमा परेको छ। पछिल्लो अनुमानअनुसार १५ दिनमै करिब १७ अर्ब रुपैयाँ घाटा हुन सक्ने अवस्था देखिएको छ। यसको असर न्यूनीकरण गर्न सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने र विद्यालयको शैक्षिक सत्र ढिलो सुरु गर्ने निर्णय गरेको छ। साथै, इन्धनसँगै मल आपूर्ति, उद्योगका कच्चा पदार्थ र रेमिट्यान्समा पनि असर पर्न सक्ने भएकाले सरकारले समग्र अध्ययन गरिरहेको छ। मन्त्री खनालले यी विषय समेटिएको प्रतिवेदन छिट्टै सरकारलाई बुझाइने जानकारी दिए।


खगेन्द्र कार्की
प्रतिक्रिया