कांग्रेसभित्र दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभियान नै बनेको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ ।

महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन भएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।

आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।

मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

उद्घाटनपछिको बन्दसत्र पनि भृकुटीमण्डपको सभाहलमै हुने बताइएको छ ।

बन्द सत्रमा प्रतिनिधिहरुले नेपाली कांग्रेसको नेतृत्व नै बदल्ने गरी महामन्त्री थापा र शर्मालाई दबाबसम्म दिने अवस्था छ । देशभरबाट आएका बहुमत प्रतिनिधिले नेतृत्व नै परिवर्तनको मुद्दा उठाएका छन् । तर यतिखेर नेतृत्व परिवर्तन पार्टी विभाजनकै सुरुवात हुने भएकाले संकल्प प्रस्ताव पारित गरेर विशेष महाधिवेशन समापन गर्ने योजनामा महामन्त्रीद्वय देखिएका छन् । विशेष महाधिवेशन संस्थापन पक्षका लागि पेचिलो दबाबका रुपमा प्रस्तुत हुने देखिएको छ ।

८ बजेदेखि नाम दर्ता

महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ । उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिई आउन अनुरोध गरेका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया