गण्डकी सरकारले गाँजा खेतिलाई प्रोत्साहनसहित घरेलु मदिरालाई ब्राण्डिङ गर्ने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

पोखरा। गण्डकी प्रदेश सरकारले राजस्व बढाउन गाँजा खेतीलाई प्रोत्साहन गर्ने तथा घरेल मदिराको ब्राण्डिङ गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।

प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाँजा खेती, स्थानीय कृषि उत्पादन, मदिराको ब्राण्डिङ र पर्यटन प्रदवद्र्धनका लागि धर्म गुरुहरुलाई निमन्त्रण दिनेलगायतका विषयहरु समेटिएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा बाचन गर्नुभएको कार्यक्रममा आगामी वर्षको बजेटको आकार भने घटाउने संकेत गरिएको छ । “औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने” नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै स्थानीय उत्पादनहरु भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च हिमाली भेगमा उत्पादन हुने आलु, उवा, काउनो, कोदो, फापर, जौलगायतका उत्पादहरूको ब्रान्डिङ गर्ने पनि घोषणा गरिएको छ । त्यसैगरी केन्द्र सरकारको अधिनमा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने पनि कार्यक्रममा उल्लेख छ ।

प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय स्थलको विकास र संरक्षण गर्दै धर्म गुरुहरुलाई बोलाएर पर्यटन प्रवद्र्धन गर्ने घोषणा पनि प्रदेश सरकारले गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा पहल गर्ने तथा पुरानो विमानस्थललाई प्रदेश सरकार मातहत ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महशुल छुट दिइएको छ भने नदी किनारमा रहेका फाँट र टारहरूको सिँचाइ प्रबन्धमा जोड दिइएको छ । कृषि, स्वास्थ्य र खेलकूदमा पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

बजेट अभावमा ठूला आयोजनाहरुमा भने बजेट कटौती गरिने देखिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया