घरजग्गा कारोबार बढ्यो, पुसमा सुनसरीको इनरुवाबाट सबैभन्दा धेरै झण्डै २ हजार कारोबार

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । साउनदेखि खुलाइएको कित्ताकाटले पुस लागेपछि मात्र गति लियो । २ वर्षदेखिको मन्दी र घरजग्गा वर्गीकरणले शिथिल बनेको घरजग्गा कारोबार पुस महिनामा ह्वात्तै बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको छ । सुनसरीको इनरुवा मालपोत कार्यालयले १ हजार ९ सय ३७ वटा घरजग्गा किनबेचको लिखत पारित गरेको छ । सो मालपोत कार्यालयमा एक महिनामा ४ हजार ९ सय ८९ वटा घरजग्गासम्बन्धी विविध कार्य सम्पन्न भएको थियो ।

यसैगरी, झापाको भद्रपुरमा १ हजार ७ सय ४३, मोरङको बेलबारीमा १ हजार ६ सय ५०, धनुषाको जनकपुरधाममा १ हजार ५ सय २०, सप्तरीको राजविराजमा १ हजार २ सय ६० वटा घरजग्गाका लिखत पास भएको तथ्यांक विभागको छ ।

पुस महिनामा मुलुकभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको विभागसँग अभिलेख छ । मंसिर भन्दा ८ प्रतिशतले बढी घरजग्गाको कारोबार भएको पुष्टि भएको छ । राजश्वसको हिसाबले यो महिना उपलब्धीमूलक देखियो । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पुस एकै महिनामा मात्र  ४५ हजार २ सय ७७ वटा लिखत पास हुँदा साढे ३ अर्ब २० करोड बढी रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । गत मंसिरमा साढे ४२ हजार लिखत पारित भएका थिए ।

मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसिरको तुलनामा पुसमा राजस्व संकलन पनि ३५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक विभागको रहेको छ ।

सरकारले स्थानीय तहमार्फत घरजग्गाको वर्गीकरण गरी कित्ताकाट खुकुलो पारेपछि कित्ताकाटको संख्या पनि बढेको हो । यही अवधिमा बैंकहरूमा लगानीयोग्य रकम बढ्न थालेको तथा बैंकहरूको ब्याजदर पनि निरन्तर रूपमा घट्न थालेकाले घरजग्गाको कारोबार बढेको सम्बन्धित निकायको ठम्याई रहेको छ ।

विभागका अनुसार पुसमा भएको घरजग्गा कारोबार २ वर्षयताकै अधिक हो । यसअघि मंसिरमा सर्वाधिक धेरै ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएका थिए । दुई वर्षअघिसम्म एकै महिनामा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेको थियो । २०७८ पुसमा मुलुकभरि ७० हजार १ सय ६८ वटा घरजग्गासम्बन्धी कारोबार भएका थिए ।

पुस महिनामा बलरा सर्लाही, लगनखेल ललितपुर, मनमैजु काठमाडौं, दार्चुला, कपिलवस्तु, रुपन्देही मालपोत कार्यालयमा भने एउटा पनि लिखत पास नभएको तथ्यांक रहेको छ । मनाङमा नौवटा लिखत पारित हुँदा मुस्ताङमा १० र डोल्पामा १३ वटा लिखत पास भएका छन् ।

यसबीचमा काठमाडौं उपत्यकामा भने घरजग्गा कारोबार सुस्त नै रहेको पाइएको छ । पुसमा उपत्यकाभरिका नौवटा मालपोत कार्यालयबाट २ हजार ६ सय ५५ वटा घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । 

सरकारले भू–उपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुकुलो गरेसँगै घरजग्गाको कारोबारमा सुधार आएको हो । घरजग्ग्गा कारोबार बढाउन सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट खोलेको थियो भने राष्ट्र बैंकले गत मंसिरमा घरजग्गा कर्जाको जोखिम भार घटाएको थियो ।

घरजग्गा कारोबार बढेसँगै सरकारलाई राजस्वमा राहत भएको छ । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

पुसमा सरकारले सेवा कर बापत २६ करोड २० लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिस्ट्रेसन दस्तुर बापत २ अर्ब १२ करोड १२ लाख ४९ हजार रुपैयाँ कर उठाएको छ । मुलुकभरका मालपोत कार्यालयहरूले पुसमा पुँजीगत लाभकरबापत १ अर्ब १० करोड ९ लाख ४० हजार रुपैयाँ र अन्य विभिन्न सेवाबापत २७ करोड ९० लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया