धनकुटामा १२ वर्षपछि आफ्नै उम्मेदवारलाई भोट हाल्ने अवसर

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । तत्कालीन माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टीं) धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारलाई भोट हाल्ने अवसर पाएका छन् ।

२०६४ सालको निर्वाचनमा धनकुटाका दुबै क्षेत्र जितेको तत्कालीन नेकपा माओवादी केन्द्रले २०७० को निर्वाचनमा पराजित भएपछि धनकुटामा आफ्ना उम्मेदवार उठाएको थिएन । २०७४ सालको निर्वाचनमा उसले नेकपा एमालेलाई र २०७९ को निर्वाचनमा काँग्रेसलाई सघाएको थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलबीच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसपटक साविक माओवादी पृष्ठभूमिका धर्मराज पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पौडेल नेकपाका केन्द्रीय सदस्यसमेत हुन् ।

पौडेलको राजनीतिक यात्रा बहुदलीय व्यवस्थापछि स्थानीय तह हुँदै केन्द्रीय राजनीतिसम्म फैलिएको छ । उनी २०४९ सालमा नेकपा एमालेबाट तत्कालीन धनकुटा जिल्ला विकास समितिको सभापति निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट एमालेकै तर्फबाट उम्मेदवार बनेका पौडेल त्यसबेला तत्कालीन माओवादीका हरिराज खेवासँग पराजित भएका थिए ।

एमाले विभाजनपछि २०७८ सालमा उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका पौडेले माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहित बनेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । धनकुटाको महालक्ष्मी नगरपालिका २ मारेकम निवासी पौडेलको जन्म २०१७ साल असोज २४ गते भएको हो । उनले ग्रामीण विकास विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।

शिक्षण पेशाबाट सार्वजनिक जीवन थालेका पौडेलले गाउँकै धर्मोदय निम्न माध्यमिक विद्यालयमा अध्यापन गरेका थिए । २०४० देखि २०४३ सालसम्म प्रधानाध्यापकका रूपमा काम गरेका उनी २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा निर्वाचित भएका थिए । २०४९ सालसम्म उनले उक्त जिम्मेवारी सम्हालेका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई समर्थन गरेको थियो भने प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका अर्जुन राईलाई सघाएको थियो । प्रदेशसभा २ मा भने पार्टीले आफ्नै जिल्ला संयोजक कुसुमकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

२०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी हालसम्म कुनै दलमा खुलेका छैनन् । प्रदेशसभा १ का उम्मेदवार अर्जुन राई भने नेकपा एमालेमा फर्किसकेका छन् ।

धनकुटामा यसपटक प्रतिस्पर्धा निकै बहुआयामिक देखिएको छ । विगतमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धामा निर्णायक भूमिका खेल्दै आएको तत्कालीन माओवादी केन्द्र तथा हालको नेकपाले आफैं मैदानमा छ । धनकुटामा यसअघिका दुई चुनाब जितेका राजेन्द्रकुमार राई एमाललेका उम्मेदवार छन् भने काँग्रेसले जिल्ला सभापति दिनेश राईलाई मैदानमा उतारेको छ ।

धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको छ । यस क्षेत्रमा १ लाख १८ हजार ४२५ जना मतदाता छन् । जिल्लामा एक सय १९ मतदानस्थलमा एक सय ६६ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ ।

२०७९ सालको समानुपातिकतर्फको निर्वाचनमा धनकुटामा नेकपा एमालेले २९ हजार ४०७, नेपाली कांग्रेसले १८ हजार १३५ र नेकपा माओवादी केन्द्रले ४ हजार ८३८ मत प्राप्त गरेका थिए ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया