दमक । दमक नगरपालिकाले व्यवसाय अनुगमन तथा राजश्व संकलन अभियानको दोस्रो चरण सुरु गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सफलतापूर्वक सम्पन्न अभियानबाट राजश्व वृद्धि र व्यवसाय व्यवस्थापनमा सुधार देखिएपछि यस वर्ष पनि यही कार्यक्रम निरन्तरता दिइएको हो ।
अभियानको उद्घाटन नगर प्रमुख रामकुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले संयुक्त रूपमा गरे । उद्घाटन कार्यक्रममा राजश्व प्रशासन शाखा, नगर प्रहरी, इलाका प्रहरी, आन्तरिक राजश्व कार्यालय र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता थियो । संयुक्त टोलीले अब ७० दिनसम्म नगरका सबै वडामा पुगेर व्यवसाय अनुगमन र राजश्व संकलन गर्नेछ ।
गत वर्ष पहिलो पटक सञ्चालन गरिएको अभियानबाट १ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भएको राजश्व शाखा प्रमुख डम्बरराज बरालले जानकारी दिए । उनका अनुसार यस वर्ष दर्ता नभएका व्यवसायलाई वैधानिक बनाउने, नविकरण नपुगेकालाई नविकरण गराउने र राजश्व तिर्न ढिलाइ गर्नेहरूसँग जरिवाना असुली गरिनेछ ।
नगरपालिकाका अनुसार यस अभियानबाट व्यवसायीहरूलाई वडा वा नगर कार्यालय धाउनुपर्ने झन्झट हट्नेछ । राजश्व तिर्ने, व्यवसाय दर्ता र नविकरणको सबै सेवा घरदैलोमै उपलब्ध हुनेछ ।
नगर प्रमुख थापाले यो अभियान डराउने होइन, सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको बताए । “अनुगमन टोलीले समस्या फुकाउने, प्रक्रिया बुझाउने र सहज बनाउने काम गर्छ,” उनले भने ।
अभियानको सुरुवात वडा नं. १ बाट गरिएको हो । सबै वडामा स्थानीय जनप्रतिनिधि र सूचना प्रविधि शाखाका प्राविधिक कर्मचारी सहभागी हुनेछन् ।
दमक नगरपालिकाको १७औं नगरसभाले पारित गरेको नीति, कार्यक्रम र बजेटअनुसार सुरु गरिएको यो अभियानले व्यवसायी र नगर दुवैका लागि लाभदायक हुने विश्वास लिइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो