राजधानीको चिसोलाई चिर्दै भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन मार्फत परिवर्तनका लागि कांग्रेसमा उत्साह र उमंगका साथ निकै गर्माएको कुरा झापाबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य सुरेश सुब्बाले बताएका छन् ।
उनी भन्छन्, गीत–संगीत र आपसी भेटघाटले वातावरणलाई अत्यन्तै रमाइलो बनाएको छ ।
सहरका होटलदेखि पार्टी कार्यालयका आँगनसम्म कार्यकर्ताहरू समूह–समूहमा राजनीतिक बहसमा, चिया–कफीका कपसहित संवादमा व्यस्त छन् । खाने, बस्ने र छलफल गर्ने व्यवस्थाले पनि प्रतिनिधिहरूलाई सहज बनाएको छ । उनीहरू यस क्षणलाई ‘परिवर्तनको ऐतिहासिक अवसर’ का रूपमा अनुभूति गरिरहेका छन् ।
आइतबार अपराह्न ४ बजे मञ्चबाट गरिएको औपचारिक घोषणाअनुसार बहुमत सदस्य ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । साँझ ७ बजेसम्म नेताहरुले बोल्ने क्रम चलेको थियो र विहान ८ बजेबाट बन्दसत्र सुरु हुने झापाबाट सहभागी भएका महासमिति सदस्य सुरेश सुब्बाले बताउ । उनका अनुसार सोमबार विहानसम्म ६० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गर्नेे सम्भावना रहेको छ । उनका अनुसार विगतका महाधिवेशनमा लिइने रकम भन्दा अत्यन्तै न्युन एक हजार तिर्नुले नै परिवर्तनको महसुस गराईसकेको छ । त्यही एकहजारबाट सम्पूर्ण खर्च व्यवस्थापन हुने पनि उनले बताए ।
नेपाली कांग्रेसमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । पार्टीको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, र अहिले ५४ प्रतिशत प्रतिनिधिले नै महाधिवेशनको माग गरेको दाबी गरिएको छ । यसले परिवर्तनपक्षधरहरू बहुमतनजिक पुगेको संकेत दिएको छ ।
विशेषतः झापाबाट ६५ प्रतिशतभन्दा बढी सहभागिता भएको जनाइएको छ । त्यहाँका महासमिति सदस्य सुरेश सुब्बाले भने, “सभापतिमा गगन थापाको विकल्प अहिले छैन, र कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व स्थापनाको चरण सुरु भइसकेको छ।”
नेता गोपालमान श्रेष्ठले पनि भने, “अब नेपाली कांग्रेसमा ब्याज खाने दिन सकिएको छ, अब काम गर्नेहरूको पालो हो ।”
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो