मोरङसुनसरी सेवा समाज कतारले आयोजना गरेको रक्तदानमा ४४ पिन्ट रगत संकलन, पूर्वमन्त्री गोकर्ण विष्टसहितको उपस्थिति

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । स्वदेश तथा विदेशमा सामाजिक अभियानमा अब्बल मानिँदै आएको सामाजिक संस्था मोरङसुनसरी सेवा समाज प्रवास शाखा कतारले अंग्रेजी क्यालेण्डर फेरिएको पावन अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघीय सांसद तथा पूर्व श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री एवम् एमाले सचिव गोकर्ण विष्टको समेत उपस्थिति रहेको कतारबाट आयोजक संस्थाका अध्यक्ष भिम बराईले जानकारी दिए । बराईलीका अनुसार कतारको प्रतिष्ठित सरकारी अस्पताल हमालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रमलाई नेपाली रक्तदाता संघ, कतारले समन्वयकारी भूमिका निभाएको थियो । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदानमा अग्रज व्यक्तित्व द्रोण बस्नेतले रक्तदान गर्दै शुभारम्भ भएको बराइलीले बताए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । १ सय ४७ जना उपस्थिति रहेको कार्यक्रममा ४४ जनाले रक्तदान गरेको समाजका अध्यक्ष भीम विश्वकर्माद्वारा प्रेसित समाचारमा जनाएका छन् । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले नयाँ वर्षको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनले बताए । रक्तदान पुण्यको कार्य भएको र कतारमा क्रमशः विभिन्न संघ संस्थाले पुण्यको कार्य निरन्तर गरिरहेको रक्तदाता संघ कतारका अध्यक्ष राम्जी खत्रीले प्रतिक्रिया दिए ।

समाजका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजक संस्थाले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया