भारतीय कोइलामा भारतबाट सिल तोडेर नक्कली कोइला नेपाल पठाउने गरेको खुलासा

सुप्रिया राई

इटहरी । अमेरिकाबाट उच्च गुणस्तरको कोइला खरिद गरी भारतको बाटो हुँदै नेपाल भित्र्याउने क्रममा सिल तोडी डुप्लिकेट (नक्कली) कोइला सट्टापट्टा हुने गरेको तथ्य सार्वजनिक भएको छ।

कोशी अञ्चल इटा व्यवसायी संघ, इटहरी–सुनसरीले सोमबार इटहरीमा पत्रकार सम्मेलन गरी भारतको केही डिपोहरूमा ट्रकको सिल तोडी राम्रो कोइला बिक्री गरेर कमसल कोइला हालेर नेपाल पठाइने गरेको जानकारी गराएको हो।

संघका अध्यक्ष खगेन्द्र श्रेष्ठका अनुसार सुनसरी र मोरङका इटा उद्योगी तथा अन्य सप्लायर्सहरूले अमेरिका बाट आयात गरेको उच्च गुणस्तरको कोइला भारतको हल्दिया पोर्ट (बन्दरगाह) मा जहाजबाट अनलोड गरी भारतीय नम्बर प्लेटका ट्रकमा सिल लगाएर नेपाल पठाउने व्यवस्था छ। तर, नेपाल आउने क्रममा भारतको केही डिपोहरूमा ट्रकको सिल तोडी राम्रो कोइला निकालेर कमसल तथा नक्कली कोइला सट्टापट्टा गर्ने गरिएको पाइएको हो।

संघका अनुसार पाँच दिनअघि हल्दिया पोर्टबाट नेपाल आएका भारतीय ट्रकहरू ध्द्यछढभ् घद्धद्धघ, ध्द्यछठभ् ण्ठछट र ध्द्यछढम् ज्ञद्धण्ट सहित अन्य ट्रकहरूमा ल्याइएको कोइलाको गुणस्तर परीक्षण गर्दा हल्दिया पोर्टको ल्याब रिपोर्टभन्दा अत्यन्तै कम गुणस्तरको कोइला भेटिएको थियो। सो विषयमा चालकहरूसँग सोधपुछ गर्दा ट्रकका मालिकहरूले नै भारतीय डिपोहरूमा राम्रो कोइला बिक्री गरी खराब कोइला हालेर पठाएको बताएको संघले जनाएको छ।

नेपाल आउने कोइला नेपाल भित्रिएपछि मात्र सिल खोल्न पाइने कानुनी व्यवस्था रहे पनि भारतमै सिल खोली कोइला बिक्री गर्ने र ढुङ्गाको कालो धुलो मिसाएर उद्योगीहरूलाई ठूलो आर्थिक क्षति पुर्‍याउने कार्य गरिएको संघको आरोप छ।

यस प्रकारको गैरकानुनी र आपराधिक गतिविधिले इटा उद्योगीहरूलाई गम्भीर नोक्सानी पुगेको भन्दै कोशी अञ्चल इटा उद्योग व्यवसायी संघले उक्त कार्यप्रति घोर भर्त्सना गरेको छ।


सुप्रिया राई
प्रतिक्रिया