भारतको अयोध्यामा किन हतारमा हुँदैछ राम मन्दिरमा प्राणप्रतिष्ठा, नेपालका स्थानीय तहमा किन बिदै दिएर खुशीयाली ? हिन्दुवादीहरु विभिन्न कार्यक्रम गर्दै

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । हिन्दु मुस्लिमबीचको द्वन्द्वले हजारौंको ज्यान आहुति भएको स्थान भारतको उत्तर प्रदेशमा राम जन्मभूमि अयोध्यामा  निर्माण कार्य नै नसकि राम मन्दिरमा प्राणप्रतिष्ठान भोलि हुँदैछ । त्यो प्राणप्रतिष्ठाका विषयलाई लिएर नेपालका केही स्थानीय तहले बिदा समेत दिएका छन् । उक्त प्राणप्रतिष्ठामा तेस्रो पटक पनि प्रधानमन्त्री हुने दाउमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थिति हुने भएका छन् । आसन्न चुनावलाई प्रभावित तुल्याउन र रामको भव्य मन्दिर निर्माण भयो भनेर जनतालाई एजेण्डा लिएर जानका लागि पनि हतारमा उक्त मन्दिरको प्राणप्रतिष्ठान गर्न लागिएको विश्लेषण गरिएको छ । हल्ला त हिजोका दिनमा मनि आएको हिन्दु सम्राटको पगरी गुटेका पूर्व राजा ज्ञानेन्द्र शाह पनि सरिक हुने हल्ला भए पनि पुष्टि भने हुन सकिरहेको छैन । तथापि नेपालका केही भुभागका केही समुदाय भने उत्साहित देखिएका छन् । 

अध्योध्याको राम मन्दिर भारतमा लामो समयदेखि हिन्दू मुस्लिम द्वन्द्वको एउटा जडका रुपमा रहँदै आएको थियो । यो ठाउँमा पहिले बाबरी मस्जिद थियो । तर, त्रेतायुगमा भगवान राम जन्मेको ठाउँमा भन्दै हिन्दूवादी कार्यकर्ताहरुले सन् १९९२ मा मस्जिद ध्वस्त पारेका थिए । त्यसपछि उत्पन्न भएको धार्मिक दंगामा हजारौंको ज्यान गयो ।

सन् २०१९ मा भारतीय सर्वोच्च अदालतले उक्त निर्माणस्थल हिन्दूको भएको विवादास्पद फैसला सुनायो । त्यही फैसलाको आडमा भारतको हिन्दूवादी भारतीय जनता पार्टीको सरकारले भव्य राम मन्दिर निर्माण गरेको हो । निर्माण कार्य अहिले पनि जारी छ । जहाँ भोलि त्यही मन्दिरको प्राण्प्रतिष्ठा गरिन लागेको हो ।

यता मुस्लिम समुदाय भने क्रोधित र भयग्रस्त अवस्थामा छन् । उनीहरुको लागि बाबरी मस्जिदको भग्नावशेष एउटा चहर्याइरहेको घाउजस्तो थियो । यो मन्दिर निर्माणले भारतमा हिन्दू–मुस्लिम द्वन्द्वको नयाँ श्रृंखला आरम्भ गर्न सक्ने आँकलन पनि गरिँदैछ ।

तर यता नेपालमा भने भारतमा पानी पर्दा नेपालमा छाता ओढ्ने प्रवृत्ति देखाउँदै केही स्थानीय तहले शुखियाली मनाउन भोलि सार्वजनिक विदा दिएका छन् । साथै, जनतालाई उत्सव मनाउन अपिल समेत गरेका छन् ।

मधेस प्रदेशमा विभिन्न तरिकाले उत्सव मनाउन प्रदेश सरकार र स्थानीय सरकार नै भिडेका छन् । कतै हनुमान आराधाना, हनुमान चालिसा पाठ, राम धुनजस्ता धार्मिक अनुष्ठानको तयारी भइरहेका छन् । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सोमबार कुनै पनि पशुपन्छी जीवजन्तु आदिको बध, मदिरा माछामासुको विक्री वितरण नगर्न उर्दी जारी गरेको छ । कसैले त्यस्तो गरेको पाइएमा ‘नियमानुसार’ कारवाही गर्ने चेतावनी महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले दिएका छन् । रौतहटको सदरमुकाम गौर, बाराको सदरमुकाम कलैयासहित कयौं नगरपालिकाले यस्तै खालको सूचना जारी गरेका छन् ।

सप्तारीको राजविराज नगरपालिकाले भारतको आयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा भन्दै सोमबार सार्वजनिक विदा घोषणा गरेको छ । कार्यवाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै नगरपालिका मातहतका सबै निकाय बन्द हुने बताएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा, बिक्री वितरण बन्द हुने पनि उनको सूचनामा उल्लेख छ । यति मात्र होइन, नगरप्रमुखले पालिकाभित्रका सबैले घर–घर मठमन्दिरमा दीप प्रज्ववलन गर्नसमेत उर्दी गरेका छन् ।

कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाले पनि भारतको राममन्दिरमा प्राण प्रतिष्ठा हुने अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ । गाउँपालिकाको कार्यलय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा विदा दिइएको अध्यक्षले कमलेशशरण चौधरीले सूचना जारी गर्दै बताएका छन् । गाउँपालिकाले सो दिन पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको विक्री वितरण नगर्न भनेको छ ।

विभिन्न हिन्दूवादी संघ–संस्थाले धनगढी र नेपालगञ्जमा शोभायात्रा गर्ने तयारी गरेका छन् भने केही नगरमा कलशयात्रा गर्ने भनिएको छ ।

बिराटनगरमा हिजो मोटरसाइकल र्‍याली गरिएको छ । यस्तै, पशुपतिनाथ मन्दिर परिसरमा रहेको शंकराचार्य मठनजिकै विश्व हिन्दू परिषदले शंखनाद प्रतियोगितासमेत गर्दैछ । त्रिपुरेश्वरको राम मन्दिरमा पनि दीप प्रज्ववलन गर्ने कार्यक्रम छ ।

हालैमात्र ‘हनुमान’ नामको भारतीय चलचित्र नेपालमा ल्याएका वितरकले यो चलचित्र हेर्ने दर्शकले काटेको टिकटबाट ५ प्रतिशत रकम आयोध्या मन्दिर निर्माणको सहयोगार्थ पठाउने निर्णय सार्वजनिक गरेका थिए ।– नेपाल प्रेस डटकमको सहयोगमा

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया