झापा । प्रतिनिधिसभा निर्वाचनलाई पहिलो प्राथमिकता दिंदै जिल्ला प्रहरी कार्यालय झापाको कमान्ड सम्हालेकी नयाँ प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन दिएकी छन्। उनले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु आफ्नो मुख्य दायित्व भएको बताउँदै सुरक्षामा कुनै लापरबाही नहुने चेतावनी दिएकी छन्।
पूर्व एसपी राजन लिम्बूको विदाइ तथा नयाँ एसपी खड्काको स्वागत कार्यक्रममा उनले निर्वाचन लक्षित सुरक्षा योजना तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइन्। उनले जिल्लाभरका प्रहरी युनिटको अनुगमन, फाँटगत गतिविधि प्रत्यक्ष बुझ्ने र आवश्यक परे कठोर निर्णय लिन तयार रहेको सन्देश दिइन्। गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई केन्द्रमा राख्दै उनलाई झापामा पठाएको हो। उनी हेटौंडास्थित बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखाबाट सरुवा भएर आएकी हुन्।
झापा आइपुगेपछि खड्काले दमक क्षेत्रमा पुगेर सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी छन्। उच्च जनघनत्व र राजनीतिक गतिविधि बाक्लो भएकाले दमकलाई संवेदनशील क्षेत्रका रूपमा लिँदै उनले स्थानीय प्रहरीसँग समन्वय बैठक गरी सम्भावित चुनौती र तयारीबारे निर्देशन दिइन्। प्रहरीका अनुसार दमक, बिर्तामोड र मेचीनगरलाई ‘विशेष निगरानी क्षेत्र’ घोषित गर्दै गस्ती, चेकजाँच र सूचनात्मक संयन्त्रलाई सुदृढ पार्ने तयारी भइरहेको छ।
यसपटक झापा–५ निर्वाचन क्षेत्र विशेष ध्यानमा छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसहितका उम्मेदवारबीचको प्रतिस्पर्धाले यहाँको चुनावी माहोल तातिएको छ। राजनीतिक भिडन्तले झापा सुरक्षाका दृष्टिले पनि संवेदनशील बनेको छ।
यस पृष्ठभूमिमा एसपी खड्काको नियुक्तिलाई गृह मन्त्रालयले रणनीतिक कदमका रूपमा लिएको बताइन्छ। उनले “निर्वाचन सफल नभएसम्म शान्ति सुरक्षा नै पहिलो प्राथमिकता हो” भन्दै निर्वाचन अवधिभर सुरक्षालाई उच्च सतर्कतामा राख्ने प्रतिबद्धता जनाएकी छन्। नयाँ नेतृत्वसहित झापाको सुरक्षा संयन्त्र थप सक्रिय र कडा हुने संकेत देखिएको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो