आत्मनिर्भर कृषि सहकारीको ११ औं साधारणसभा सम्पन्न

फाष्ट मिडिया नेपाल संवाददाता

कृषकका लागि कृषककै पुँजी प्रयोग गरेर समृद्धिको यात्रामा लागि परेको सुन्दरहरैंचा विराटचोकको एक सहकारीले ११ औं साधारणसभा सम्पन्न गरेको छ । 

कृषकसँग मिलेर कृषककै लागि काम गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको आत्मनिर्भर कृषि सहकारी संस्थाले ११ औं वार्षिकोत्सव शनिबार सम्पन्न गरेको हो । 

शेयर सदस्य मध्येबाट आर्थिक पहुँच कम भएका तर कृषिमै केही गर्छु भन्ने ५ जनालाई बाख्रा तथा कुखुरा पालनका लागि १० हजारका दर र गाई पालन गर्नेलाई २५ हजारका दरले र्निब्याजी रकम उपलब्ध गराउँदै आएको यस सहकारीले विराटचोकको नवशृजना युवा क्लबको सभाहलमा कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका कार्यवहाक अध्यक्ष मनुका कुमारी (कार्की) थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रम ज्येष्ठ शेयर सदस्य गोपाल सिंह सापकोटाले प्रमुख आतिथ्यतामा सञ्चालित थियो । मोरङ सुनसरी सेवा समाजका कोषाध्यक्ष खगेन्द्र प्रसाई, ट्रेड भिजन इन्भेष्टमेन्ट प्रा.लि.लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता सो कार्यक्रममा रहेको थियो । यस्तै संस्थाका सल्लाहकार, पूर्व तथा वर्तमान पदाधिकारी, विभिन्न उपसमितिका पदाधिकारीलगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानीय पुँजी साझा प्रयास, आत्मनिर्भरताको लागि हाम्रो अभ्यास नारा दिएर अगाडि बढेको उक्त साकोसले संस्थालाई क्रियाशिल गराउन योगदान पु¥याउने संस्थापक सदस्यहरु नारायण भुजेल, विमला चौहान, मित्रजंग थापालगायत असल ऋणी सुजाता पराजुली, उत्कृष्ट मासिक बचत जानुका बस्नेत, उत्कृष्ट दैनिक बचतकर्ता मैया खडका बस्नेत, उत्कृष्ट बाल बचत सुभानी भण्डारी र जेष्ठ नागरिक सम्मान गोपाल सिंह सापकोटालाई नगदसहित सम्मान गरेको छ । 

संस्थाका सचिव राजु भट्टराईले सञ्चालन गरेको सो कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक सदस्य नारायण भुजेलले अब साधारणसभामा आएर मात्र नहुने कृषिका विभिन्न परियोजना ल्याएर समृद्धिको बाटो खोज्नुपर्ने बताए । उनले समृद्धिका लागि स्थापित सहकारीभित्र अवसरको सदुपयोग र चुनौतिलाई परास्त गर्दै अगाडि बढ्नुपर्ने बताए । 

साधारणसभाको दोस्रो सत्रमा विभिन्न प्रतिवेदनहरु अनुमोदन गर्दै कार्यक्रम समापन गरिएको थियो । सुन्दरहरैंचा र केराबारी गरी २ पालिका कार्यक्षेत्रका कृषकलाई समेट्ने प्रयासमा सो सहकारी रहेको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया