दमक । पूर्वको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा परिचित दमक अस्पताल हालैको मूल्यांकनमा कोशी प्रदेशका उत्कृष्ट अस्पतालमध्ये टप थ्रि ९शीर्ष तीन० मा पर्न सफल भएको छ। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निर्देशनालयबाट सञ्चालित अस्पतालहरूको गुणस्तर मूल्यांकन कार्यक्रम अन्तर्गत यो परिणाम सार्वजनिक गरिएको हो ।
स्वास्थ्य सेवा प्रदान गर्ने तयारी र गुणस्तर सुनिश्चितता मापनका लागि देशभरका सरकारी तथा निजी अस्पतालहरूको निरीक्षणपछि तयार पारिएको प्रतिवेदनअनुसार, दमक अस्पतालले झापामा पहिलो र प्रदेशस्तरमा उत्कृष्ट अस्पतालको मान्यता प्राप्त गरेको हो।
१५ बेड क्षमताको तयारी अस्पतालका रूपमा वर्गीकृत दमक अस्पतालले १०० अंकको मूल्यांकनमा ८६ अंक हासिल गरेको छ। तीनवटा प्रमुख मापदण्ड — गर्भनेन्स (प्रशासन) ६० अंक, क्लिनिकल सेवा (स्वास्थ्य पक्ष) २० अंक र सपोर्ट सिस्टम (सुरक्षा, सरसफाइ, पानी व्यवस्थापन आदि) २० अंक — का आधारमा गरिएको मूल्यांकनमा दमक अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरी उत्कृष्टता सावित गरेको अस्पतालका प्रवक्ता डा। अनुपम घिमिरेले जानकारी दिए।
उनका अनुसार हरेक आर्थिक वर्षमा दुईपटक अस्पतालहरूको ग्रेडिङ हुने प्रथाअनुसार चालु आर्थिक वर्षको पहिलो मूल्यांकनमा दमक अस्पतालले गतवर्षको ८४ अंकभन्दा दुई अंकले सुधार गरी ‘ग्रीन कोड तयारी अस्पताल’ का रूपमा प्रमाणित भएको हो। यो वर्गमा पर्ने अस्पतालहरूलाई पूर्ण तयारीसहितका अस्पतालका रूपमा मान्यता दिइन्छ।
डा। घिमिरेले अस्पतालले सेवा प्रणालीमा निरन्तर सुधार गर्दै बिरामीमैत्री वातावरण सिर्जना गर्न विभिन्न नवप्रवर्तन गरेका बताए। उनका अनुसार अस्पतालमा टोकन प्रणाली, वार्ड–नेभिगेसन प्रणाली, भिड व्यवस्थापनका लागि सोधपुछ काउण्टरहरू, र ज्येष्ठ नागरिक, असक्त र अपांगता भएका बिरामीका लागि छुट्टै सेवा खिड्की सञ्चालनमा छन्। त्यस्तै, ज्येष्ठ नागरिकका लागि मंगलबार विशेष ओपीडी सेवा पनि सञ्चालन हुँदै आएको छ। यी सुधारात्मक प्रयासहरूले अस्पतालको समग्र गुणस्तर वृद्धि गर्न मद्दत गरेको उनले बताए।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले अस्पतालले छोटो अवधिमै गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराएर प्रदेशकै नमुना अस्पतालका रूपमा प्रतिष्ठा कमाएको बताए। उनका अनुसार, गतवर्ष तय गरिएका सुधार योजनाहरू कार्यान्वयन गर्दै अस्पतालले यो वर्ष उत्कृष्टमा पर्न सफल भएको हो। उनले भने, “दमक अस्पतालको यो उपलब्धि केवल संस्थाको नभई सम्पूर्ण दमक नगरवासीको गौरव हो।”
नगरप्रमुख थापाले दमक अस्पताललाई सामुदायिक अस्पतालमा रूपान्तरण गर्ने अभियान सुरु भइसकेको जानकारी पनि दिए। उनका अनुसार, नगरपालिकाको पुरानो भवन भत्काएर नयाँ सुविधा सम्पन्न भवन निर्माणको कार्य अघि बढाइएको छ, जसबाट भविष्यमा अस्पतालको बेड क्षमता ३०० सम्म पुर्याउने योजना रहेको छ। साथै, अस्पतालमा सामाजिक सुरक्षा इकाइ, सिटी स्क्यान, हेमोडायलासिस सेवा, आधुनिक प्रयोगशाला विस्तार, र आईटी सर्टिफिकेशन प्रणाली लागू गर्ने तयारी भइरहेको उनले बताए।
त्यस्तै, नगरपालिकाले अस्पताललाई सेटेलाइट हब अस्पताल र रिसर्च सेन्टर को रूपमा विकास गर्ने रणनीति समेत अघि बढाएको उनले उल्लेख गरे।
उप–मेयर रेजिना भट्टराई प्रसाईले नगरवासीको स्वास्थ्यलाई नगरको अमूल्य सम्पत्ति भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन लगानीको प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनका अनुसार, दमक नगरपालिकाले पछिल्लो समय अस्पतालको फोहोर व्यवस्थापन प्रणालीलाई मेसिनद्वारा प्रशोधन गर्ने प्रविधि भित्र्याएको छ, जसले सरसफाइ र वातावरणीय सन्तुलनमा ठुलो योगदान पुर्याएको छ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश कुमार मेहताका अनुसार, अस्पतालमा अहिले अक्सिजन प्लान्ट, आइसियू, इको, इसिजी, एक्स–रे, इन्डोस्कोपी, र प्रयोगशाला सेवा सहज रूपमा उपलब्ध छन्। दमकबासी मात्र होइन, झापा, इलाम, मोरङ लगायतका पहाड र तराईका जिल्लाका लाखौं सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन्।
अस्पतालका मेसु डा। कृष्णकुमार शाहका अनुसार, हरेक वर्ष करिब दुई लाखभन्दा बढी बिरामीले ओपीडी सेवा, करिब १० हजारले आकस्मिक सेवा र चार हजारभन्दा बढी बिरामीले सर्जिकल सेवा लिने गरेका छन्। साथै, हरेक वर्ष २०० भन्दा बढी पोष्टमार्टम सञ्चालन हुने गरेको उनले बताए। अस्पतालले टिबी, एचआइभीरएड्स लगायत सर्ने र नसर्ने रोगहरूको वैज्ञानिक रूपमा निदान र उपचार गर्दै आएको छ।
डा। शाहका अनुसार, अस्पतालको उद्देश्य केवल उपचार केन्द्रमा सीमित नरही, स्वास्थ्य सचेतना र रोकथाममुखी सेवामा पनि केन्द्रित रहेको छ। सबै वडाका आधारभूत स्वास्थ्य केन्द्रहरूलाई डिजिटल प्रणालीसँग जोड्दै जनस्वास्थ्यका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
अस्पतालले निरन्तर रूपमा गुणस्तर कायम गर्दै सेवा सुविधाको विस्तार गरिरहेको र यसले नगरकै स्वास्थ्य सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको दमक अस्पतालको हालसालैको मूल्यांकन प्रतिवेदनले पुष्टि गरेको छ।
यस सफलताले दमक नगरलाई पूर्वी नेपालको स्वास्थ्य केन्द्रको नयाँ पहिचान दिलाएको छ— जहाँ समर्पण, सेवा र प्रणालीगत सुधारको संयोजनले ‘स्वास्थ्यमा उत्कृष्टता’को नयाँ मापदण्ड स्थापित गरेको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो