इटहरी–१७ मा १० जना महिलालाई सिलाइ–कटाइ तालिम

सुप्रिया राई

इटहरी । इटहरी–१७ स्थित परिवर्तन आमा समूहले टेवा नेपालको आर्थिक सहयोगमा महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत लेभल–२ को सिलाई–कटाई तालिम सञ्चालन गरेको छ।

उक्त तालिममा १० जना महिलाहरु सहभागी भएका छन् , सहभागी दिदीबहिनीहरूले आफूहरू अत्यन्त उत्साहित रहेको उल्लेख गर्दै तालिम सकिएपछि स्वरोजगारमार्फत टेलरिङ व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताएका छन्।

परिवर्तन आमा समूहकी अध्यक्ष गोमा गिरीले तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउन समूह निरन्तर सक्रिय रहेको बताइन्। उनले समूहले विगतदेखि नै महिला, बालबालिका, जेष्ठ नागरिक र महिला हिंसासम्बन्धी विषयमा काम गर्दै आएको जानकारी दिँदै महिलालाई घरभित्र मात्र सीमित नराखी सीपमार्फत स्वरोजगार बनाउन प्रतिबद्ध रहेको धारणा राखिन्।

अध्यक्ष गिरीका अनुसार सो तालिममा १९ वटा विभिन्न आइटम बनाउन सिकाइएका छन्। यसअन्तर्गत ब्याग, महिला तथा पुरुषले लगाउने कपडालगायतका सामग्री उत्पादन गरेर बिक्री गर्ने र सोबाट प्राप्त आम्दानी समूहको कोषमा राखी सामाजिक क्षेत्रमा खर्च गर्ने योजना रहेको उनले बताइन्।


सुप्रिया राई
प्रतिक्रिया