निर्वाचन नजिकिँदै, सहर तात्यो गाउँमा वेवास्ता

खगेन्द्र कार्की

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सहरका चोक–चोकमा चुनावी चहलपहल तीव्र भएको छ । तर ग्रामीण भेगमा भने अझै पनि चुनावी उत्साह न्यून र उम्मेदवारहरूको उपस्थिति न्यून देखिन्छ ।

सहरमा पोस्टर, ब्यानर, सभा, भेटघाट र सामाजिक सञ्जालमा प्रचारप्रसार तीव्र भइरहेका छन् । तर गाउँका बासिन्दा मीडिया र सामाजिक सञ्जालमार्फत मात्र चुनावी गतिविधि हेर्ने अवस्थामा छन् ।

ग्रामीण क्षेत्रका मतदाताले उम्मेदवारहरू गाउँसम्म नआएको गुनासो गरेका छन् । झापा कमल–६ का खेमप्रसाद आचार्य भन्छन्, “राजनीतिक गतिविधि त चलिरहेका छन् तर उम्मेदवारहरू गाउँसम्म आएका छैनन् ।” उनका अनुसार केही दलले वडा र टोलस्तरमा समिति गठन तथा जनपरिचालन सुरु गरे पनि सघन प्रचार अभियान भने देखिएको छैन ।

कृषि व्यस्तताका कारण पनि गाउँमा चहलपहल न्यून छ । किसानहरू मकै गोड्ने, आलु खन्ने र तरकारी खेतीमा व्यस्त हुँदा चुनावभन्दा दैनिकी अग्रस्थानमा छ ।

अझ भारतसँग जोडिएका सीमावर्ती गाउँहरू त झन् सुनसान छन् । कचनकबल गाउँपालिकाका मतदाताहरूले “चुनाव हुँदैछ भन्ने त थाहा छ तर को–को उम्मेदवार छन् भन्ने थाहा छैन” भन्ने प्रतिक्रिया दिएका छन् । पूर्णकुमार गणेशका अनुसार न पुराना दलका उम्मेदवार पुगेका छन्, न स्वतन्त्र उम्मेदवारहरू

इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजामजस्ता स्थानीयले पनि यही गुनासो दोहोर्याएका छन् । उनीहरूका भनाइमा, “नेताहरू चुनावका बेला मात्रै आउँछन् , जितेपछि फर्केर हेर्दैनन् ।” गाउँमा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सिँचाइ र रोजगारीजस्ता समस्या यथावत् छन् ।

यद्यपि, केही मतदाताले भने अझै प्रचारप्रसारको समय बाँकी भएकाले उम्मेदवारहरू ढिलोचाँडो गाउँ आउने आशा राखेका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया